नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडोमा क्रियाशील नेपाली भाषी समुदायको साझा संस्था नेपाली घरको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
संस्थाका अध्यक्ष बसन्त लम्सालको अध्यक्षतामा गत अप्रिल २७ तारिख सम्पन्न कार्यसमितिको पूर्ण बैठकले सर्वसम्मत तरिकाबाट तीन सदस्यहरुको नाम सिफारिस गरेको हो।
डाक्टर संगीता श्रोत्रियाको संयोजकत्वमा गठित समितिका अन्य सदस्यहरुमा डाक्टर आनन्द पौडेल र भूषणलाल श्रेष्ठ रहेका छन् । संस्थाको विधान अनुसार आठौं कार्यकाल (२०२६-२०२८) को लागि कार्यसमिति चयन गर्न निर्वाचन समिति गठन गरिएको संस्थाका निवर्तमान अध्यक्ष जगदीशचन्द्र ढकालले बताए।
निर्वाचन समितिलाई निर्वाचनको कार्यतालिका कार्यविधि र प्रक्रिया निर्धारण गरी निर्वाचन प्रक्रिया आगामी जुन महिनाभित्र सम्पन्न गरिसक्न अधिकार प्रदान गरिएको ढकालले बताए।
नेपाली घरको हालै संशोधित विधान अनुसार संस्थामा साधारण आजीवन संस्थागत मानार्थ र गैरनाफामुखी सदस्य गरी पाँच किसिमका सदस्य रहने व्यवस्था गरिएको छ। विधान अनुसार संस्थामा १ हजार भन्दा धेरै दान दिनुहुने दाताहरूले चाहनु भएमा उहाँको श्रीमान् श्रीमती दुवैजना स्वतः आजीवन सदस्य हुने व्यवस्था रहेको नेपाली घरका महासचिव भोला कटुवालले बताए।
संस्थाको सदस्य बन्न सधैं सबैलाई ढोका खुला रहेता पनि संस्थाको विधान अनुसार निर्वाचन समिति गठन भइसकेको अवस्थामा अब बनेका सदस्यहरुले भने यस निर्वाचन प्रक्रियामा आफ्नो मताधिकार प्रयोग गर्न नपाउने कटुवालले बताए। नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल जुलाई १ तारिखदेखि शुरू हुने बताइएको छ।


