कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले ‘घरमै राहदानी’ पुर्याउने सेवा सुरु गरेको छ।
सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरेको छ।
सो सेवा सुरु भएपछि सेवाग्राहीले राहदानी लिन कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय कञ्चनपुरबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएको छ । सेवाग्राहीको मागअनुसार राहदानी सिधै घरमै पुर्याइने व्यवस्था गरिएको छ। रासस


