मेलवर्न । अस्ट्रेलिया सरकारले अनलाइन हिंसात्मक र आतङ्कवाद नियन्त्रण गर्न करिब ७४ लाख अस्ट्रेलियन डलर खर्च गरेर नयाँ सुरक्षा केन्द्र स्थापना गर्ने घोषणा गरेको छ।
गृह मामिलामन्त्री टोनी बर्कले बुधबार पत्रकार सम्मेलनमार्फत ‘काउन्टर टेररिज्म अनलाइन सेन्टर’ स्थापना गरिने जानकारी दिए। उक्त केन्द्रको नेतृत्व अस्ट्रेलियाको सुरक्षा निकाय र संघीय प्रहरीले संयुक्त रूपमा गर्नेछन्।
मन्त्री बर्कका अनुसार, अनलाइन नयाँ कानुनअन्तर्गत हालसम्म ३१ वटा मुद्दा दर्ता गरिएको छ, जसमा १९ जना नाबालिग रहेका छन्।
उनले युवाहरू छिटो अनलाइनमार्फत यस्तो गतिविधितर्फ आकर्षित भइरहेको अवस्था गम्भीर भएको बताउँदै सुरक्षा निकायहरूले सक्रिय रूपमा कारबाही गरिरहेको उल्लेख गरे।
सङ्घीय प्रहरी प्रमुख क्रिसी बारेटका अनुसार उग्रवादी समूहहरूले प्रविधिको प्रयोग गरी कमजोर र संवेदनशील व्यक्तिहरूलाई तीव्र गतिमा प्रभावित गरिरहेका छन् । उनले प्रविधिको विकासले वास्तविक र भर्चुअल संसारबीचको सीमालाई धमिलो बनाएको र यसले समस्यालाई अझ जटिल बनाएको बताए।
नयाँ केन्द्रमा अनुसन्धानकर्ता र गुप्तचर विश्लेषकहरूले मिलेर उच्च जोखिमयुक्त अनलाइन प्लेटफर्महरूको निगरानी गर्ने, सम्भावित खतरा मूल्याङ्कन गर्ने र गतिविधि रोक्न विभिन्न उपाय अपनाउनेछन्। रासस


