कोलोराडोको बोल्डरमा मे १६ मा विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपाल डे परेड आयोजना हुँदै

फाइल फोटो

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। कोलोराडोमा नेपाली भाषी समुदायले नेपाली भाषा, संस्कृति, पहिचान तथा संरक्षण गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमसहित “नेपाल डे परेड” आयोजना गर्ने भएका छन्।

कोलोराडोमा नेपाली भाषी समुदायबीच सक्रिय रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजना, हेल्पिङ ह्यान्ड हेल्थ एजुकेसन र एनआरएनए एनसीसीको सहयोग तथा यहाँस्थित सबै संघ-संस्थाहरूको सहभागितामा “नेपाल डे परेड” आयोजना गर्न लागिएको रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका उपाध्यक्ष हरि गुरुङले बताएका छन्।

यही मे १६ तारिख आइतबार अपराह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म बोल्डर शहरमा सञ्चालन हुने कार्यक्रममा स्थानीय बोल्डर सिटीका मेयर एरन ब्रोकेेट, हेल्पिङ ह्यान्डका अध्यक्ष नारायण श्रेष्ठ लगायत विभिन्न अतिथिहरूको सहभागिता रहने गुरुङले बताएका छन्।

यहाँका स्थानीयलाई नेपाल र नेपालीको भाषा संस्कृति पहिचान गराउने यस महत्वपूर्ण कार्यक्रममा सकेसम्म आफ्नो संस्कृति झल्कने भेषभूषामा सहभागी हुन सबैलाई अनुरोध गरिएको छ। त्यसैगरी संघ-संस्थाहरूलाई सम्भव भएसम्म ब्यानरसहित उपस्थित भइदिनुहुन पनि अनुरोध गरिएको छ।

कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न नेपाली परेडसँगै नेवाःखल, मगर समाज, तमु पेल्हु लगायतका संघ-संस्थाहरूले आफ्नो संस्कृति झल्काउने सांगीतिक कार्यक्रमहरूसमेत प्रदर्शन गर्ने कार्यक्रम रहेको रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष आकृति राईले बताएकी छन्।

कोलोराडोस्थित सबै संघ-संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यवसायी, कलाकार, नेपाली भाषी बुबा-आमा, दाजुभाइ, दिदीबहिनी तथा नेपाल र नेपालीप्रति सद्भाव राख्ने सबैलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य तरिकाबाट सफल बनाउन सहयोग गरिदिनुहुन अध्यक्ष राईले अनुरोध गरेकी छन्।

परेड कार्यक्रम हरेक वर्ष भौगोलिक स्थितिले काठमाडौं उपत्यकासँग मिल्दोजुल्दो सुन्दर नगर बोल्डरमा आयोजना हुने गर्दछ। केही वर्षअघिदेखि अमेरिकाको विभिन्न राज्यमा नेपाली परेड आयोजना हुन थालेको छ। कोलोराडोको परेड भने यहाँस्थित बोल्डर सिटी एन्ड काउन्टीको कार्यालयले सन् २००४ देखि नेपाली भाषा संस्कृतिको संरक्षण तथा पहिचानका लागि हरेक वर्ष नेपालीहरूको “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि आयोजना गर्न थालिएको हो।
अमेरिकामा रहेका ५० राज्यमध्ये कोलोराडो यस्तो किसिमको कार्यक्रम आयोजना गर्ने पहिलो राज्य हो। नेपालीहरूको दिवस भनेर अमेरिकी सरकारबाट स्वीकृत भएको यो पहिलो सूचीकृत कार्यक्रम हो। कोलोराडोमा नेपालीहरूको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचान गराउने उद्देश्य लिई हेल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठको सक्रियतामा यो कार्यक्रम सुरु गरिएको थियो।





Comments

comments

138469