म्याग्दी । धवलागिरी गाउँपालिका–४ मा रहेको अर्मके झरना ओझेलमा परेको छ।
धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानव बस्ती बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना व्यवस्थापन, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । यो झरना सुन्दर, मनमोहक र आकर्षक देखिन्छ । अग्लो पहाडको फेदीमा दुई वटा तहमा छङछङ गर्दै झर्ने अर्मके झरनाको फेदीबाट म्याग्दी नदी बग्छ।
करिब २०० मिटर अग्लो झरनाको फेदीमा तलाउ छ । छेउमै प्राकृतिक तातोपानीको कुण्ड रहेको छ । झरनालाई पर्यटकले टाढैबाट अवलोकन गर्ने र तस्बिर भिडियो लिने गर्छन् । रमणीय भए पनि अर्मके झरना सुनसान हुन्छ।
अर्मके झरना र प्राकृतिक तातोपानी कुण्डमा पूर्वाधार निर्माण, प्रचारप्रसार र व्यवस्थापन गरी पर्यटन विकासका लागि जनप्रतिनिधिले चासो देखाएका छन् । धवलागिरि गाउँपालिका–४ का वडासदस्य हरिप्रसाद तिलिजाले झरना र तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गराउने प्रयास गरेको बताए।
“म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणका क्रममा अर्मके झरना नजिकै हालै सडक पुगेको छ”, उनले भने, “सडक सुविधासँगै अर्मके झरनामा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।”
सडकदेखि तातोपानी कुण्ड र अर्मके झरनामा जानका लागि म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । हाल हिउँदयाममा काठको अस्थायी साँघु र डाइभर्सन सडकबाट झरनाको फेदी र तातोपानी कुण्डमा पुग्न सकिन्छ । बर्खायाममा झरनाको पानी उडेर कुण्डको टहराका काठ भिजेर कुहिने समस्या छ । जेल्तुङदेखि १० मिनेट पैदलयात्रा र पाँच मिनेट गाडीको यात्रामा अर्मके झरना र तातोपानी कुण्डमा पुग्न सकिन्छ।
जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको बगर तातोपानीको पोखरीमा शरीर डुबाएर स्नान गरेमा चोटपटक लागेको, गानोगोला, ग्यास्ट्रिक, छालासम्बन्धी स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । बगर हुँदै धौलागिरि हिमाल आरोहण गर्न र चक्रीय धौलागिरिको पदयात्रामा जाने पर्यटकलाई तातोपानी र झरनामा झुलाउन तथा उनीहरूको बसाइ लम्ब्याउन सहयोग पुग्ने देखिन्छ। रासस


