अमेरिकाको कोलोराडोमा २३औँ नेपाल डे परेड विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। अमेरिकाको कोलोराडोमा २३औँ संस्करणको नेपाल डे परेड २०२६ भव्य रूपमा सम्पन्न भएको छ। सन् २००४ देखि कोलोराडोको बोल्डर सहरमा आयोजना हुँदै आएको ‘नेपाल डे परेड’को २३औँ संस्करण शनिबार भव्य रूपमा सम्पन्न भएको हो।

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएमएफएन)को मुख्य आयोजनामा भएको नेपाल डे परेडमा सहभागीहरूले नेपाल र अमेरिकाको झण्डा फहराउँदै नेपाली पोशाकसहित विभिन्न जातजातिका भेषभूषामा मौलिक नेपाली बाजा बजाएर बोल्डर सहर परिक्रमा गरेका थिए। संस्थाका युवा संयोजक तथा कार्यक्रम सञ्चालक विष्णु विवेकले जानकारी दिएका छन्।

एनआरएनए अमेरिका र हेल्पिङ ह्यान्ड्स हेल्थ एन्ड एजुकेसन संस्थाले सहयोग गरेको उक्त कार्यक्रममा बोल्डर सहरका मेयर आरोन ब्रकेट, संस्थापक नारायण श्रेष्ठ, आरएमएफएनका अध्यक्ष आकृति राई, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्मा, कोलोराडोमा रहेका नेपाली भाषी समुदायका सदस्यहरू, नेपाली घर लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बोल्डर सहरका मेयर आरोन ब्रकेटले काठमाडौँ महानगरपालिका र बोल्डर सहरबीच भगिनी सम्बन्ध कायम रहेको उल्लेख गर्दै नेपाल–अमेरिका सम्बन्धमा दुई सहरको भौगोलिक, प्राकृतिक तथा सांस्कृतिक निकटता विशेष रहेको बताए।

उनले सुरुदेखि अहिलेसम्म हरेक वर्ष नेपाल डे परेड कार्यक्रम नजिकबाट हेर्दै र सहभागी हुँदै आएको स्मरण गर्दै आगामी वर्षमा पनि यसलाई निरन्तरता दिनुपर्ने र दुई देशबीचको आपसी सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। हालै मात्र काठमाडौँ उपत्यकाको भ्रमण गरेको सम्झना गर्दै बोल्डर सहरमा धेरै नेपालीहरूलाई स्वागत गर्न पाउँदा खुशी लागेको पनि उनले बताए।

यसैगरी नेपाल डे परेडका संस्थापक तथा विशेष अतिथि नारायण श्रेष्ठले सन् २००४ देखि सुरु गरेको नेपाल डे परेड यस वर्ष पनि निरन्तरता दिन पाउँदा खुशी लागेको बताए। उनले नेपाली पोशाक, नेपालको झण्डा र विभिन्न जातजातिका भेषभूषामा मौलिक बाजा बजाउँदै बोल्डर सहर परिक्रमा गर्दा अमेरिकामा नेपाल चिनाउन पाउँदा हर्षित भएको टिप्पणी गरे।

“नेपालीहरूले नेपालको झण्डासहित बोल्डर सहर परिक्रमा गर्दा स्थानीय बासिन्दा र पर्यटकहरूले मोबाइलमा फोटो र भिडियो खिचिरहेको दृश्य गर्वको क्षण थियो,” श्रेष्ठले भने, “यो एक दिनको कार्यक्रम भए पनि हामीले २३ वर्षदेखि अमेरिकामा नेपाल चिनाइरहेका छौँ। अहिले अमेरिकाका न्यूयोर्क, क्यालिफोर्निया तथा युरोप, एसिया र अष्ट्रेलियामा पनि नेपाल डे परेडमार्फत नेपाल चिनाइँदै छ।”

कार्यक्रममा आरएमएफएनकी अध्यक्ष आकृति राईले वर्षौंदेखि अमेरिकामा नेपाल चिनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिन सफल भएकोमा सबै सहभागीलाई धन्यवाद ज्ञापन गरिन्।

परेडमा नेवार, राई, लिम्बु, मगर, गुरुङ र शेर्पा समुदायका सदस्यहरूले आफ्नो जातजातिको भेषभूषा लगाएर मौलिक बाजा बजाउँदै सांस्कृतिक नृत्यसमेत प्रदर्शन गरेका थिए।

नेपाली भाषी समुदायको भाषा, संस्कृति, भेषभूषाको अमेरिकामा संरक्षण र पहिचान गराउँदै नेपाल चिनाउने नेपाल डे परेड सबैभन्दा पहिले कोलोराडोको बोल्डर सहरमा सन् २००४ मा सुरु भएको थियो। पछिल्लो समय अमेरिकाका अन्य सहरहरू, युरोपका विभिन्न देश तथा अष्ट्रेलियाका विभिन्न सहरमा पनि नेपाल डे परेड तथा फेस्टिभलहरू आयोजना हुँदै आएका छन्।





Comments

comments

138670