नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा कार्यक्रम स्थल ड्राउरी प्लाजा होटलको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टर र ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरको संयुक्त आयोजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

रक्तदान कार्यक्रम बिहान ८:०० बजेदेखि साढे १०:०० बजेसम्म सञ्चालन भएको थियो। रक्तदान गर्न २४ जनाभन्दा बढी दाताहरू इच्छुक भए तापनि १३ जनाले मात्र दान गर्न सफल भए। अन्य इच्छुक सहभागीहरूको समय अभावका कारण सम्भव नभएको बीडीए कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासेनीले बताए।

उनले कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारी, अनेसास केन्द्रीय सचिव राजु सिटौला, पत्रकार दीर्घराज उपाध्याय लगायत सम्पूर्ण अनेसास सदस्यहरूलाई धन्यवाद दिएका छन्।

त्यसैगरी, उनले बीडीएका तर्फबाट उपस्थित केन्द्रीय अध्यक्ष महेश्वर पन्त, सचिव सलीश चन्द्र गुप्ता, उपाध्यक्ष विरोचन नेपाल लगायत विभिन्न च्याप्टरका अध्यक्षहरू तथा कोलोराडोबाट केन्द्रीय कार्यकारी उपाध्यक्ष (Executive VP) टीका पौडेल, कोलोराडो च्याप्टर सचिव नूरहरि पोखरेल, कोषाध्यक्ष विष्णु घिमिरे, निवर्तमान अध्यक्ष (IPP) डा. शारदा त्रिपाठी, विकास त्रिपाठी लगायत सम्पूर्ण बीडीए परिवारप्रति पनि आभार व्यक्त गरे।

संस्थाले “रक्तदान जीवनदान” को मूल नारालाई मनन गर्दै कोलोराडोमा सक्रिय सङ्घ संस्थाहरूको सहयोग र सहभागितामा रक्तदान कार्यक्रम गर्दै आएको छ।





Comments

comments

138884