काठमाडौँ । नेपाली चलचित्रलाई चीनको बजारसँग जोड्ने उद्देश्यले आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ले दुई देशबिचको सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
चलचित्रकर्मीले उक्त फेस्टिभललाई नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय बजार विस्तारको महत्वपूर्ण सुरुआतका रूपमा व्याख्या गरेका छन्।
फेस्टिभलको अनुभव सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपाल एआई फिल्म एलायन्स् तथा एभरेस्ट फिल्म फेस्टिभलका अध्यक्ष करूण थापाले करिब तीन वर्षअघि चिनियाँ नागरिक ली होङ्गशु (शु-ग) ले नेपाली चलचित्रलाई चीनको बजारमा लैजाने प्रस्ताव राखेपछि यस अभियानको सुरुवात भएको जानकारी दिए।
फेस्टिभलका लागि नेपालबाट २३ चलचित्र पठाइएकामा ११ वटा छनोटमा परेका जनाउँदै उनले अन्ततः छ वटा चलचित्रले चिनियाँ सेन्सर प्रक्रिया पार गरेका बताए । उनका अनुसार सेन्सर पास भई छनोट भएका चलचित्रमा ‘एन्जिला’, ‘छक्का पन्जा-५’, ‘तेलभिसा’, ‘महाजात्रा’, ‘कबड्डी-४’ र ‘होस्टेल’ छन्।
फेस्टिभलमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका तत्कालीन अध्यक्ष जनकदीप पराजुलीलगायत निर्देशक, निर्माता र कलाकारहरूको सहभागिता थियो । साथै सशस्त्र प्रहरी बलका कलाकार टोलीले नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा चीनको छाङ्शामा सात दिनसम्म ‘कबड्डी-४’, ‘छक्का पञ्जा-५’, ‘महाजात्रा’, ‘एन्जिला’, ‘तेलभिसा’ र ‘होस्टेल-३’ प्रदर्शन गरिएको थियो । एउटै समयमा पाँच वटा हलमा नेपाली चलचित्र प्रदर्शन भएको अनुभव नेपाली टोलीका लागि अविस्मरणीय रहेको सहभागीहरूले बताएका छन् । फेस्टिभल अवधिमा आयोजित ‘एआई फिल्म मेकिङ कन्फरेन्स’ लाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
चीन एआई प्रविधिमा अग्रस्थानमा रहेको उल्लेख गर्दै नेपाली टोलीले चलचित्र निर्माणमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी प्राविधिक ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेको फिल्म फेस्टिभलका अध्यक्ष थापाले बताए।
उनले हालै चीनको हुनान प्रान्तका छाङ्शा र हेङ्याङ सहरमा सम्पन्न ‘२०२६ नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ ले नेपाली चलचित्र उद्योगका लागि अन्तरराष्ट्रिय बजार विस्तारको नयाँ सम्भावना सिर्जना गरेको जानकारी दिए।
अध्यक्ष थापाका अनुसार करिब तीन वर्षअघि चिनियाँ नागरिक होङ्गशुले नेपाली चलचित्रलाई चीनको विशाल बजारमा लैजाने प्रस्ताव राखेपछि यो अभियान सुरु भएको हो । प्रारम्भमा सामान्य भेटघाटबाट सुरु भएको प्रयास अहिले नेपाल-चीन चलचित्र सहकार्यको महत्वपूर्ण आधार बनेको उनले बताए।
समारोहमा चिनियाँ अध्यक्ष जियाङ बोले सन् २०२१ को प्रारम्भिक परिकल्पनादेखि लिएर दुई वर्षभन्दा बढीको अथक तयारीपछि यो महोत्सवले पूर्णता पाएको स्मरण गरे । कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालसहित नेपाली चलचित्रकर्मीहरूको सहभागिता थियो। रासस


