ब्लड डोनर्स अफ अमेरिकाको दोस्रो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को दोस्रो वार्षिक साधारण सभा तीन बुँदे घोषणा पत्र पास गर्दै भव्य रूपमा सम्पन्न भएको छ।

कोलोराडोमा स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा यही मे २६ मा सम्पन्न दोस्रो वार्षिक साधारण सभा तीन बुँदे घोषणा पत्र पास गर्दै भव्य रूपमा सम्पन्न भएको हो।

बिडिएका अध्यक्ष महेश्वर पन्तको सभापतित्वमा सम्पन्न भएको उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा समाजसेवी तथा हेल्पिङ ह्यान्डका संस्थापक नारायण श्रेष्ठ उपस्थित थिए।

त्यसैगरी कार्यक्रममा उपस्थित विशेष अतिथिहरूमा समाजसेवी तथा लामो समयदेखि अमेरिकामा रहनुभएका इन्जिनियर रोहिणी शर्मा, सल्लाहकार तथा पूर्वअध्यक्ष डा. नन्द रेग्मी, सल्लाहकार तथा अनेसास बिओटी सभापति पदम विश्वकर्मा, सल्लाहकार तथा निवर्तमान अध्यक्ष भुषणलाल श्रेष्ठ रहेका थिए । त्यस्तै अन्य अतिथिहरूमा रेशम घर्ती, शिव काफ्ले, बिडिए कार्यकारी उपाध्यक्ष टिका पौडेल, उपाध्यक्षहरू बिरोचन नेपाल, विजयदेव अधिकारी, लिला श्रेष्ठ, झम्क निरौला, सहकोषाध्यक्ष गंगा थापा, महासचिव सतिश चन्द्र गुप्ता, केन्द्रीय सदस्य थानिरत्न कँडेल लगायत रहेका थिए।

कार्यक्रमका उपस्थित प्रमुख अतिथि तथा विशेष अतिथिहरूबाट संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु गरिएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नारायण श्रेष्ठले बिडिएले गरेको काम संसारकै सामाजिक काम मध्येको सबैभन्दा पवित्र हो भने । पवित्र काम गर्ने मानिसहरूको ज्यान जोगाउने यस्ता संस्थामा राम्रो काम गर्नेहरूका लागि पुरस्कारको व्यवस्था गर्नुपर्छ भन्दै, उक्त पुरस्कारको लागि कोष स्थापना गर्न आफूले वर्षको एक हजार डलर बिडिएलाई प्रदान गर्ने घोषणा समेत गरेका थिए।

प्रमुख अतिथिको पुरस्कार कोषको घोषणाको प्रशंसा गर्दै अध्यक्ष महेश्वर पन्तले समारोहमा तीन बुँदे घोषणा पत्र पेस गरेका थिए । जसमा बिडिएको आजीवन सदस्य संख्या थप गरी अर्को वर्षको साधारण सभा सम्ममा २ हजार ५ सय पुर्‍याउने, आजीवन सदस्य शुल्क घरको पहिलो व्यक्तिलाई एक सय डलर र परिवारको एक सदस्य थप गर्दा दुई सदस्यको जम्मा एक सय पचास डलर मात्र लाग्ने प्रस्ताव गरे ।
त्यसैगरी दोस्रो प्रस्तावमा संस्थाले गठन गरेका स्टेट समितिहरूलाई थप गर्दै थप दश स्टेटहरूमा कमिटी गठनको पहल गर्ने। तेस्रो प्रस्तावमा सदस्यताहरूमा उच्च सम्मानित र बिडिएलाई अत्यधिक सहयोग गर्नेहरूको समूहलाई जोड्न स्टिम मेम्बर व्यवस्था गर्न संस्थाको विधानमा थप्ने । तत्पश्चात संस्थाको सदस्यता किसिम ५ प्रकारको हुने व्यवस्था गर्ने प्रस्ताव गरे।

सभाले अध्यक्षको सबै प्रस्तावलाई सर्वसम्मत पास गर्दै बिडिए बोर्ड अफ ट्रस्टिजको प्रावधान रहने प्रस्तावलाई समेत पास गरेको थियो। म्याच अप फन्डको व्यवस्था र बिडिएको नाममा नेपाल जोड्ने सन्दर्भ पनि बैठकमा उठेको थियो।

समाजसेवी तथा थुप्रै संघसंस्थाहरूलाई माया गर्ने मनकारी विशेष अतिथि रोहिणी शर्माले आफू धेरै पहिलादेखि बिडिएमा लागेको र यो संस्थाको काम सबै संस्थाको भन्दा प्रशंसनीय छ भन्दै आफू अब सकेसम्म सक्रिय भएर यस संस्थालाई सहयोग गर्ने प्रण गरे । उनले समाजमा बसेर प्रत्यक्ष मानिसको जीवन बचाउने काम भगवानले गरेको काम जस्तै हो भन्दै, आफ्नो पनि यस संस्थामा समय खर्चने चाहना रहेको बताए।

अनेसास बिओटी सभापति तथा बिडिए सल्लाहकार पदम विश्वकर्माले अनेसास र बिडिए जोडिएर काम गरिरहेको र आगामी दिनहरूमा पन्तजी मार्फत अझ राम्रो सहकार्य हुने छ भन्दै सहकार्यका लागि सधैं तयार रहेको जनाए।

समारोहमा बिडिएका बारे छोटो परिचय सहित उद्घाटन सत्रलाई सम्बोधन गर्दै वर्तमान सल्लाहकार तथा पूर्वअध्यक्ष डा. नन्द रेग्मीले सबैलाई यो संस्थामा जोडिन आह्वान गरे।

यसैगरी सभालाई अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारी, नेपाली घरका कार्यवाहक अध्यक्ष गंगा चौलागाईं, एनआरएन कोलोराडोका अध्यक्ष निमा शेर्पा लगायतले शुभकामना दिएका थिए।

कार्यक्रमको दोस्रो चरणमा च्याप्टर अध्यक्षहरू र क्षेत्रीय उपाध्यक्षहरूले आ–आफ्नो क्षेत्रको रक्तदान तथा संस्थाको अवस्था बारे कार्यपत्र पेस गरेका थिए । कोषाध्यक्ष र सचिवको रिपोर्ट पेश गर्दै यो छ महिनामा थपिएको सदस्यताबाट सोह्र हजारभन्दा बढी अमेरिकी डलर संकलन भएको जानकारी गंगा थापाले गराएका थिए। यसैगरी महासचिवले संस्थाको प्रगति विवरण पेश गरेका थिए । सभामा उपस्थित हुन नसकेका अध्यक्षहरू न्यूयोर्कका कृष्ण आचार्य, फ्लोरिडाका तेज कार्की, म्यासाचुसेट्सका राम थापा, न्यूह्याम्पशायरबाट सचिव तारा खराल न्यौपानेले भिडियो प्रविधिमार्फत शुभकामना तथा आफ्नो कार्यप्रगति प्रस्तुत गरेका थिए।

कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टर अध्यक्ष निमा शेर्पाले आजीवन सदस्यता लिएका थिए । प्रमुख अतिथिबाट नयाँ तथा वर्तमान आजीवन सदस्यहरूलाई संस्थाको पिन लगाइदिएका थिए । सभालाई कार्यक्रम संयोजक तथा बिडिए कोलोराडो स्टेट कमिटीका अध्यक्ष नवराज मरासिनीले स्वागत मन्तव्य राखेका थिए भने सिनियर (कार्यकारी) उपाध्यक्ष टिका पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका पूर्वकोषाध्यक्ष श्रीराम लुइटेलले गरेका थिए।





Comments

comments

138922