न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २९ मे। हङकङमा जारी अत्यधिक गर्मीका बीच लान्ताउ टापुमा बेपत्ता भएका एक ५१ वर्षीय पदयात्री दुई दिनको खोजी कार्यपछि मृत फेला परेका छन्।
‘चान’ थर भएका ती व्यक्ति बुधबार बिहान पदयात्राका लागि निस्किएका थिए। उनी घर नफर्किएपछि बिहीबार बिहान उनकी श्रीमतीले प्रहरीमा रिपोर्ट गरेकी थिइन्। श्रीमतीको उजुरी लगत्तै अधिकारीहरूले उनको खोजी कार्य सुरु गरेका थिए।
पारिवारिक स्रोतका अनुसार चानले लान्ताउ ट्रेलको ‘सेक्सन ८’ मा पदयात्रा गर्ने योजना बनाएका थिए। उक्त मार्गले लान्ताउ टापुको दक्षिणी भागमा रहेको सेक पिक रिजर्भवायर र काउ लिङ चुङलाई जोड्दछ।
खोजी गर्ने क्रममा शुक्रबार दिउँसो लान्ताउ साउथ कन्ट्री पार्कस्थित काउ लिङ चुङ क्याम्पसाइटको सार्वजनिक शौचालय नजिकै अग्निनियन्त्रक र खोजी कार्यमा खटिएका कुकुरहरूले चानलाई फेला पारेका थिए।
भेट्टाउँदा चान अचेत अवस्थामा थिए र उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो।


