न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ५ जुन । हङकङको चेउङ शा वानस्थित एक आवासीय फ्ल्याटको शौचालयभित्र एक इन्डोनेसियाली घरेलु कामदार मृत अवस्थामा फेला परेकी छिन्।
स्थानीय प्रहरीका अनुसार बिहीबार राती करिब ८:५१ बजे फर्च्युन इस्टेटको फुक मिङ हाउसमा रहेको एक युनिटमा ती महिला अचानक बेहोस भई ढलेको खबर प्राप्त भएको थियो।
घटनाको जानकारी पाउनासाथ आकस्मिक उद्धार टोली र प्रहरी टोली तत्काल घटनास्थलमा पुगेका थिए। उद्धारकर्मीहरूले ५४ वर्षीया ती महिलालाई शौचालयको भुइँमा अचेत अवस्थामा फेला पारेका थिए। चिकित्सकहरूले उनलाई घटनास्थलमै मृत घोषित गरेका छन्।
प्रहरीका अनुसार ती महिलाको मृत्युको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि पठाइएको र रिपोर्ट आएपछि मात्रै मृत्युको स्पष्ट कारण थाहा हुने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
(समाचार स्रोत: स्थानीय सञ्चार माध्यमहरू)


