सुनसरी । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।
ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री तथा प्राकृतिक सौन्दर्यका कारण उद्यानले दैनिक आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ।
ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्माण भइरहेको यस उद्यानमा अपाङ्गतामैत्री संरचनासहित आरामदायी, सुरक्षित र सहज वातावरणको व्यवस्था गरिएको छ । उद्यान आसपासमा श्रम संस्कृति उद्यानसहित दर्जनौँ उद्यान निर्माण भइसकेका छन्, जहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गरेको छ । यसले धरानको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याएको छ।
धनकुटाको छथर जोरपाटीबाट परिवारसहित धरान घुम्न आएकी रमिला राई ज्येष्ठ नागरिक उद्यान पुगिन् । अवलोकनपछि उनले ज्येष्ठ नागरिकका लागि यस्तो सुविधा सम्पन्न उद्यान निर्माण हुनु खुसीको विषय भएको बताइन् । “हामीजस्ता बूढाबूढीका लागि यस्तो उद्यान बनेकामा धेरै खुसी लागेको छ । हिँड्न सजिलो, बस्न मिल्ने र शान्त वातावरण भएकाले यहाँ समय बिताउन निकै रमाइलो लाग्यो”, उनले भनिन्, “पहिले झाडीले ढाकिएको घना जङ्गल रहेको स्थानमा अहिले सुन्दर उद्यान निर्माण भएको देख्दा निकै खुसी लागेको छ।”
उद्यानभित्र खरले छाइएका र कमेरो माटोले लिपिएका आकर्षक साना घर निर्माण गरिएका छन् । ग्रामीण परिवेश झल्काउने यी संरचनाले उद्यानको सौन्दर्यलाई थप मनमोहक बनाएको छ । साथै उद्यानभित्र आकर्षक पोखरीसमेत निर्माण गरिएको छ । पोखरीले उद्यानको प्राकृतिक आकर्षणलाई अझ बढाएको छ।
निर्माण समितिका भूपू सैनिक इन्जिनियर दीपेन्द्र राईका अनुसार उद्यानको आन्तरिक आर्किटेक्चरल तथा संरचनागत डिजाइन थ्रीडी मोडलिङका आधारमा तयार गरिएको हो । सैनिक जीवनमा हासिल गरेको अनुभवलाई यस परियोजनामा उपयोग गरिएको उनले बताए।
श्रमदान र दाताको सहयोगमा निर्माण भइरहेको उद्यानमा प्राप्त सुझावअनुसार संरचनामा आवश्यक परिमार्जन गर्दै अन्तिम रूप दिइँदै लगिएको उनको भनाइ छ । उद्यान विशेषगरी ज्येष्ठ नागरिकको शारीरिक अवस्था र सहजतालाई ध्यानमा राखेर बनाइँदै छ । बस्नका लागि चौतारा, विश्रामस्थल तथा छोटो दूरीमै आराम गर्न सकिने संरचना निर्माण गरिएका छन्।
त्यसैगरी, हिँडडुलमा सहजता हुनेगरी अपाङ्गतामैत्री पैदलमार्ग निर्माण गरिएको छ । ह्वीलचेयर प्रयोगकर्ताका लागि पनि अनुकूल संरचना तयार पारिएको छ । उद्यानभित्र एकतर्फी प्रवेश र अर्कोतर्फ सहज निकास हुने आवागमन प्रणालीसमेत समावेश गरिएको इन्जिनियर राईले जानकारी दिए।
ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै हल्का शारीरिक अभ्यास तथा मनोरञ्जनका सामग्री राखिने व्यवस्था गरिएको छ। प्राथमिक उपचारका लागि मेडिकल कक्ष निर्माण गरिएको छ भने विश्रामका लागि आरामघर निर्माणाधीन अवस्थामा छन् । केही संरचनाको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी संरचनाको काम क्रमशः सम्पन्न गर्दै लगिने उनले बताए।
दाताहरूको सहयोगमा निर्माण गरिएका साना घरमा विभिन्न जातजातिको संस्कार, संस्कृति र पहिचान झल्काउने सिलाम साक्मादेखि चिन्दोसम्मका सांस्कृतिक सामग्री तथा प्रतीकहरू राखिएका छन् । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना तथा सांस्कृतिक सामग्रीको समायोजनले निर्माणाधीन उद्यानलाई धरानको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ।
ज्येष्ठ नागरिक उद्यान नजिकै श्रम संस्कृति उद्यान निर्माण गरिएको छ । सोही क्षेत्रभित्र एसडिएस रक गार्डेन, एसएनएस चौतारी, एसडिबी रोज गार्डेन, झाँक्री दह, श्रमदान चौतारी, आरा धरान तथा मौनता क्षेत्र (ग्रीन बुद्ध) निर्माण भइसकेका छन् । साथै सिङ्गापुर पुलिस, ब्रिटिस आर्मी र भारतीय सेनाका भूपू सैनिकहरूले गोर्खा चौतारी निर्माण गरेका छन्।
श्रमबाट प्रेरित कलाकृति तथा श्रमको झल्को दर्साउने संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ। अहिले दैनिक रूपमा हजारौँ पर्यटक ज्येष्ठ नागरिक उद्यान तथा आसपासका उद्यान अवलोकन गर्न आउने गरेको स्थानीय व्यवसायी दिनेश मगरले बताउनुभयो । यस क्षेत्रमा दर्जनौँ आकर्षक उद्यान निर्माण गरिएका छन् । पहिला आवागमन शून्य जस्तै रहेको यस ठाउँमा अहिले दैनिक सयौँ पर्यटक घुम्न आउँछन्। रासस


