जलवायु परिवर्तनका कारण दक्षिण अफ्रिकामा तापक्रम निरन्तर बढिरहेको छ। अहिलेसम्म खडेरी, बाढी र खाद्य असुरक्षा जस्ता प्रभावहरूमा बढी ध्यान दिइएको छ, तर अर्को गम्भीर सङ्कट विद्यालयहरूमा फैलिरहेको तथ्यबारे सरोकारवाला निकाय र सरकारहरू खासै महत्त्व दिइएको पाइदैन।
अनुसन्धानले धेरै विद्यालयमा बालबालिकाको विकास, अध्ययन र खेलकुदका लागि खतरनाक रूपमा तातो ठाउँ बनिरहेका देखाएको छ।
विज्ञहरुका अनुसार कक्षाकोठामा अत्यधिक तातो हुँदा बालबालिकाको एकाग्रता, स्मरणशक्ति, व्यवहार र शैक्षिक प्रदर्शनमा असर पर्छ । उचित प्रकाश र स्वच्छ हावाको लागि झ्याल तथा भेन्टिलेसनको अभाव, अत्यधिक भीडभाड हुने कक्षाकोठा र विद्यालयमा पिउने पानीको उपलब्धता सीमित हुँदा पनि बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ।
दक्षिण अफ्रिकी ‘मेडिकल रिसर्च काउन्सिल’का वातावरणीय स्वास्थ्य वैज्ञानिकहरूले गरेको अनुसन्धानले बढ्दो तापक्रमले बच्चाहरूको दैनिक जीवन र कल्याणलाई असर गरिरहेको दावी गरेको हो।
‘युनिभर्सिटी अफ जोहानेसबर्ग’सँगको सहकार्यमा गौटेङ प्रान्तमा गरिएको सो अध्ययनमा तापक्रम र आद्रतासँग सम्बन्धित मापकमध्ये आधाभन्दा बढी विद्यालय ‘सावधानी’ वा ‘अत्यधिक सावधानी’ नगर्ने वर्गमा रहेको पाइएको छ।जोहानेसबर्गमा कक्षाकोठाको तापक्रममा गरिएको अर्को अध्ययनमा, लगभग सबै बच्चाहरूले कम एकाग्रता देखाएको रिपोर्टमा उल्लेख छ। अर्को एक अध्ययनअनुसार २५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुँदा विद्यार्थीको अनुपस्थिति बढ्छ।
अनुसन्धाताहरूका अनुसार धेरैजसो विद्यालय भवन र खेल मैदानहरू बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउने गरी बनाइएका छैनन् । सरकारी सहयोगमा बनेका सस्तो घर र अनौपचारिक बस्तीमा बस्ने परिवार अत्यधिक तापक्रमको जोखिममा बढी छन्।
हालैको एक अध्ययनले पनि ग्रामीण र शहरी विद्यालयहरूबीच स्पष्ट भिन्नता देखाएको छ। अध्ययनका अनुसार ग्रामीण कक्षाकोठाको तुलनामा शहरी कक्षाकोठा २५ देखि २८ डिग्री सेल्सियसको तापक्रम राख्न बढी सक्षम छन् । यस्ता भिन्नताहरूले शिक्षा र स्वास्थ्यसम्बन्धी असमानतालाई झनै झनै चर्काउन सक्ने विशेषज्ञहरूले जनाएका छन्।
“जलवायु परिवर्तनलाई अझै पनि धेरैले भविष्यको समस्या मानेका छन्, तर अत्यधिक तातो कक्षामा बस्ने बालबालिकाका लागि यसले उनीहरूको सिक्ने क्षमता, विकास र स्वास्थ्यमा असर पारिरहेको छ,” अनुसन्धानकर्ताहरूले भनेका छन् । उनीहरूले दक्षिणी अफ्रिकाको शिक्षा प्रणालीले तातो भविष्यको लागि तयार हुनुपर्नेमा चेतावनी दिएका छन्।
अध्ययनका अनुसार मानव मस्तिष्कले सीमित तापक्रममा राम्रोसँग काम गर्छ । कक्षाकोठामा धेरै तातो हुँदा बालबालिकालाई ध्यान केन्द्रित गर्न, बुझ्न र सम्झन गाह्रो हुन्छ। अन्तर्राष्ट्रिय अध्ययनहरूमा पनि, तातो कक्षाहरू खराब परीक्षाको परिणाम, कम ध्यान अवधि, र उत्पादकत्वमा कमीसँग जोडिएको छ।
वयस्कको तुलनामा उनीहरूको शरीरले कम प्रभावकारी रूपमा तातोलाई नियन्त्रण गर्न सक्ने भएकाले साना बालबालिका बढी संवेदनशील हुने गरेको अध्ययनले देखाएको छ।
दक्षिणी अफ्रिकाका धेरै विद्यालयहरूमा कक्षाकोठाको तापक्रम बढी हुनु टिनको छाना, कमजोर इन्सुलेशन(तातो वा चिसो रोक्ने साधन), भीडभाड र हावाको प्रवाहको कमीको कारण भएको अध्ययनले देखाएको छ। रासस


