जुम्लामा मार्सीधान रोपाइँ गरिँदै

सन्दर्भ फोटो

जुम्ला । यहाँका किसान यो यामका लागि कालिमार्सी धान रोपाइँमा व्यस्त हुन थालेका छन्। यहाँका आठवटै स्थानीय तहका किसानलाई यतिबेला मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याई भएको चन्दननाथ नगरपालिकाका स्थानीय लक्ष्मी कुमाईँले जानकारी दिइन्।

पछिल्लो समयमा मार्सीधानको चामल बजारमा माग अत्यधिक आउने भएकाले किसानको खेतीप्रति आकर्षण बढेको उनको भनाइ छ।मार्सीधान जुम्लामा मात्र उत्पादन हुन्छ । विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातोमार्सी धानको रोपाइँ सकिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन् । जिल्लाका प्रसिद्ध चन्दननाथ, भैरवनाथ मन्दिरका नाममा रहेका शेरा ज्युलोमा मार्सी रोपाइँ सम्पन्न भएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ।

जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। जसमध्ये एक हजार ६८ हेक्टर क्षेत्रफलमा जुम्ली मार्सीधान उत्पादन हुने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए।

गत वर्षको कात्तिकदेखि फागुन मसान्तसम्ममा जिल्ला बाहिर करिब १७५ मेट्रिक टन जुम्ली मार्सीधानको चामल बिक्री गरी रु तीन करोड ५० लाख आम्दानी भएको उनले जानकारी दिए।

परम्परागत रूपमा खेती गरिँदै आइएको जुम्ली मार्सीधान उत्पादनमा प्रविधिको उपयोगिता बढाउनसके उपलब्धिमूलक हुने प्रमुख अधिकारीले विश्वास व्यक्त गरे । उनका अनुसार रोगकीराको सङ्क्रमण रोक्न कृषि अनुसन्धान केन्द्रले चन्दननाथ-१ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउनका लागि सिफारिस गरेको छ।

विभिन्न अध्ययन, अनुसन्धान गरी मार्सी-१८, २० र २२ जातका धान सिफारिस गर्ने तयारी भइरहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । योसँगै उत्पादनमा वृद्धि गर्ने योजनासहित केन्द्र लागिपरेको उनको भनाइ छ। रासस





Comments

comments

139053