हिमालयदेखि एन्डिजसम्मः नेपाल–पेरु मित्रताका ५० वर्ष

काठमाडौँ । पेरुको राष्ट्रिय दिवस तथा नेपाल–पेरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार साँझ काठमाडौँमा एक विशेष स्वागत समारोह आयोजना गरिएको छ।

भारत तथा नेपालका लागि पेरुका राजदूत हाभियर पाउलिनिच र काठमाडौँस्थित पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवालद्वारा संयुक्त रूपमा आयोजित उक्त समारोहमा नेपाल सरकारका उच्च अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, अवैतनिक वाणिज्यदूतहरू, व्यवसायी, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै राजदूत पाउलिनिचले पेरुको राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति मित्रता र सद्भावका लागि आभार व्यक्त गरे । उनले नेपाल र पेरुबीचको सम्बन्ध विगत पाँच दशकदेखि मित्रता, आपसी सम्मान र सौहार्दपूर्ण सहकार्यमा आधारित रहेको उल्लेख गरे।

“यस वर्ष नेपाल र पेरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसर हो । विगत पाँच दशकमा हाम्रो सम्बन्ध मित्रता, आपसी सम्मान र सहकार्यमा आधारित रहँदै आएको छ”, उनले भने।

राजदूत पाउलिनिचले हिमालय र एन्डिज पर्वत शृङ्खलाले दुवै देशका जनजीवन, संस्कृति र राष्ट्रिय पहिचानलाई गहिरो रूपमा प्रभावित गरेको उल्लेख गर्दै नेपाल र पेरुबीच विशेष प्रकारको आत्मीयता रहेको बताए।

पर्वतीय भौगोलिक अवस्थाले सिर्जना गर्ने अवसर र चुनौतीको सामना गर्न दुवै देशले आआफ्नो अनुभव विकास गरेको भन्दै उहाँले सहकार्य र सम्भावना सिर्जना गरेको बताए।

उनले राजनीतिक संवाद, आर्थिक तथा व्यापारिक आदानप्रदान, शैक्षिक तथा सांस्कृतिक सम्बन्ध तथा जनस्तरको सम्पर्कलाई अझ सुदृढ बनाउन पेरु प्रतिबद्ध रहेको उल्लेख गरे।

साथै, उच्च पहाडी कृषि, जलस्रोत व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, पर्वतीय तथा ग्रामीण पर्यटन, नवीकरणीय ऊर्जा तथा दिगो विकासका क्षेत्रमा नेपाल र पेरुबीच सहकार्य विस्तार गर्न सकिने सम्भावना रहेको बताए ।

कार्यक्रममा अवैतनिक वाणिज्यदूत अग्रवालले नेपालमा पेरुको अवैतनिक वाणिज्यदूतको जिम्मेवारी निर्वाह गर्न पाउँदा गौरव महसुस भएको बताए। उनले नेपाल र पेरुबीचको आधा शताब्दी लामो मित्रतालाई अझ उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

“हामीले मित्रताको आधा शताब्दी पूरा गरेका छौँ । अब द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँदै दुवै देशका लागि समृद्ध भविष्य निर्माण गर्नुपर्छ”, उहाँनले भने।

अग्रवालले आगामी दिनमा लगानी, कृषि, पर्यटन, व्यापार तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्न विशेष पहल गर्ने बताए । उनले दुवै देशका उद्योग वाणिज्य सङ्घबीच सहकार्य बढाएर आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गरे।

राजदूत पाउलिनिचले नेपालमा पेरुको प्रवर्द्धन तथा दुई देशबीचको मित्रता र सहकार्यलाई मजबुत बनाउन अग्रवालले पुर्‍याएको योगदानको विशेष प्रशंसा गरे।

नेपाल र पेरुबीच सन् १९७६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । विगत पाँच दशकमा दुवै देशले आपसी सम्मान, मित्रता र सहयोगका आधारमा सम्बन्धलाई निरन्तर विस्तार गर्दै आएका छन् । स्वर्णजयन्तीका अवसरमा दुवै पक्षले आगामी दिनमा सम्बन्धलाई अझ व्यापक, परिणाममुखी र जनस्तरसम्म लाभ पुग्नेगरी अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

समारोहमा नेपाल–पेरु मित्रता आगामी वर्षमा अझ सुदृढ बन्दै जाने तथा हिमालय र एन्डिजलाई जोड्ने सहकार्यका नयाँ आयाम खुल्ने विश्वास व्यक्त गरिएको थियो। रासस





Comments

comments

139162