काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।
यस अवसरमा कागेश्वरीमा गई पूजा आजा एवं दर्शन गरेमा कागबाट सहयोग प्राप्त हुने धार्मिक विश्वास छ । यहाँ प्रत्येक वर्षको कागे अष्टमी र काग तिहारका अवसरमा भक्तजनको घुइँचो हुने गर्छ । कागेश्वरी मन्दिरमा २२७ किलोको पित्तललगायत अष्ट धातुबाट बनेको कागको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ।
यो नेपालकै ठूलो कागको मूर्ति हो । नेपालको ठूलो कागको मूर्तिमा पूजा गर्न भक्तजनको भीड लागेको हो। कागेश्वरी मन्दिर माथिको सहिद उद्यानमा एक हजार किलो अष्ट धातुबाट कागको मूर्ति बनाइएको छ । यो विश्वकै ठूला कागको मूर्ति भएको जनाइएको छ।
काग तिहारका अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि कागको पूजा गर्ने भक्तजनको भीड लागेको छ। यसैगरी पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि काग तिहारका अवसरमा पूजा, आराधना गर्ने भक्तजनको लाम लागेको छ। यी मन्दिरका साथै आज घरघरमा पनि कागलाई मीठा मीठा खानेकुरा खान दिई सम्मान गरिन्छ। रासस


