नेपाली घर कोलोराडोमा गंगा चौलागाईं अध्यक्षमा निर्विरोध

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका।कोलोराडोमा नेपाली भाषी समुदायबीच सक्रिय सामाजिक संस्था नेपाली घरको नयाँ कार्यसमितिका पदाधिकारी छनोट प्रक्रिया सम्पन्न भएको छ।

आगामी दुई वर्षे कार्यकालका लागि डा. संगीता श्रोत्रियको संयोजकत्वमा भूषणलाल श्रेष्ठ र डा. आनन्द पौडेल रहेको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमितिका पदाधिकारीहरूको छनोट प्रक्रिया सम्पन्न गरेको हो।

निर्वाचन समितिले प्रकाशित गरेको सूचनाअनुसार कोलोराडोस्थित नेपाली भाषी समुदायको गौरवपूर्ण संस्था (Nepal America Social Cultural Exchange Society) नेपाली घरको आगामी २०२६–२०२८ कार्यकालका लागि संस्थापक सदस्य, समाजसेवी तथा कोलोराडो नेपाली समाजका पुराना व्यक्तित्व गंगा चौलागाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

निर्वाचन समितिद्वारा निर्धारित समयसीमाभित्र उम्मेदवारी दर्ता तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि सबै पदहरूमा एकल उम्मेदवारी परेकाले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। निर्वाचन समितिका अनुसार निर्विरोध निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू यस प्रकार रहेका छन् : अध्यक्ष गंगा चौलागाईं, वरिष्ठ उपाध्यक्ष भोला कटुवाल, उपाध्यक्ष कृष्ण काफ्ले र सुनीता थापा, महासचिव राजु खनाल, सचिव बिभिषिका अधिकारी, कोषाध्यक्ष राजन सापकोटा, संयुक्त कोषाध्यक्ष शैलेन्द्र श्रेष्ठ, जनसम्पर्क तथा सञ्चार अफिसर सुरेश रेग्मी, कल्चर तथा इभेन्ट अफिसर दिनेशकुमार कार्की, रिसोर्स तथा फेसिलिटी अफिसर पुष्कर बस्नेत, सूचना प्रविधि अफिसर डैनी ब्राह्मण, महिला सशक्तिकरण संयोजक समिका डिस्कोल, युवा संयोजक चन्द्रकान्त अधिकारी र बोर्ड अफ डिरेक्टरहरूमा दिनेश थापा, जित घिमिरे, उत्तरा बराल, अन्जना बस्नेत, सञ्जु बराल रहेका छन्।

नवनिर्वाचित कार्यसमितिले नेपाली घरको संस्थागत विकास, सामुदायिक एकता, सांस्कृतिक संरक्षण तथा सामाजिक सेवाका कार्यक्रमहरूलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गरेको छ। निर्विरोध निर्वाचनले समुदायमा रहेको आपसी सद्भाव, सहमति र एकताको सशक्त सन्देश दिएको छ।

कोलोराडोको नेपाली भाषी समुदायमा नेपाली घर एक स्थापित तथा अग्रणी संस्थाको रूपमा रहँदै आएको छ। नेपाली घर नेपाली समुदायको आस्था, भरोसा र विश्वासको केन्द्र बनेको छ। समुदायको यही विश्वासलाई आत्मसात् गर्दै नवनिर्वाचित कार्यसमितिले आगामी दिनहरूमा थाँती रहेका सम्पूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गर्ने कुरामा समुदायको पूर्ण विश्वास रहेको छ।

नेपाली भाषी समुदायको आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्र स्थापना गरी नेपाली भाषा संस्कृति संरक्षण गर्दै पुस्तान्तरणको पहल गर्ने मुख्य उद्देश्य राखेर सन् २०१० मा विधिवत् स्थापना भएको संस्थाको यो आठौं कार्यकाल हो।

नवनिर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ।





Comments

comments

139256