हङकङ विमानस्थल पार्किङमा धारिलो हातियार प्रहार गरी ७० लाख डलरको सुन लुटपाट..

सन्दर्भ तस्बिर

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १८ जुन । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको नम्बर ३ पार्किङ क्षेत्रमा मध्यरातमा एक जना पुरुषमाथि धारिलो हातियार प्रहार गरी ठूलो परिमाणको सुन लुटिएको छ।

घटना गए राति साढे १२ बजे भएको हो। ३६ वर्षीय स्थानीय पुरुष (उपनाम हु) विमानबाट ओर्लिएर आफ्नो टेस्ला कारतर्फ जाँदै थिए। उनले कालो ब्यागमा ६ किलो सुन बोकेका थिए।

अचानक फेक नम्बर प्लेट भएको एउटा सात सिटे गाडीबाट ४ जना मास्क र टोपी लगाएका युवाहरू ओर्लिए। उनीहरूले धारिलो हातियार देखाएर ब्याग खोस्न खोजे। पीडित भाग्न खोज्दा लुटेराहरूले उनको हात र खुट्टामा धारिलो हातियार प्रहार गरे र ब्याग लिएर भागे।

पीडित घाइते अवस्थामा रहे पनि होशमा थिए। उनलाई नर्थ लान्टाउ अस्पताल लगियो र पछि अर्को अस्पतालमा सारियो। उनको अवस्था स्थिर छ।

प्रहरीका अनुसार लुटेराहरू २०–३० वर्षका थिए। घटनास्थलमा रगत लागेको कपडा र प्राथमिक उपचार सामग्री फेला परेको छ। प्रहरीले सीसीटीभी हेरेर अनुसन्धान गर्दैछ र ४ जनाको खोजी भइरहेको छ। अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।

बजार मूल्यअनुसार ६ किलो सुनको मूल्य करिब ७० लाख हङकङ डलर छ। पीडितले आफ्नो पेशा खुलाउन मानेका छैनन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

(समाचार स्रोत: The Standard र on.cc)





Comments

comments

139259