दयाहाङ र मिरुनाको जोडी पुनः पर्दामा : फिल्म ‘रातो घेरा’ निर्माण घोषणा

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फेरि एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन्।

पछिल्लो समय सुपरहिट चलचित्र “जारी” मार्फत अत्यधिक दर्शकको मन जित्न सफल यो चर्चित जोडी अब नयाँ चलचित्र “रातो घेरा (द रेड सर्कल)” मा पुनः पर्दामा देखिन लागेका हुन्।

विश्राम फिल्म्स प्रा. लि.को निर्माणमा बन्न लागेको यो चलचित्रलाई निर्देशक अनिल बुढा मगरले निर्देशन गर्ने भएका छन्। निर्माण टिमका अनुसार चलचित्रको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने बताइएको छ, जसले दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश पनि दिने अपेक्षा गरिएको छ।

दयाहाङ र मिरुनाको यो जोडी पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा बढी रुचाइएको र सर्वाधिक चर्चित अन–स्क्रिन जोडीमध्ये एकका रूपमा स्थापित भइसकेको छ । “जारी” मा उनीहरूको दमदार अभिनय, प्राकृतिक प्रस्तुति र उत्कृष्ट केमिस्ट्रीले बक्स अफिसमा ठूलो सफलता हासिल गर्नुका साथै दर्शक तथा समीक्षक दुवैबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।

यही सफलताको कारणले गर्दा यो जोडी पुनः एकसाथ देखिन लागेको खबर सार्वजनिक भएसँगै चलचित्र “रातो घेरा” प्रति दर्शकमाझ ठूलो प्रतिक्षा रहेको छ।

फिल्म ‘ऊनको स्वीटर’ बाट अभिनेत्री मिरुना मगरले केही दिनअघि मात्र नेपाल सरकारद्वारा प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्।

निर्माण पक्षका अनुसार यो चलचित्रलाई अझ भव्य, कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको छ। साथै अनुभवी कलाकार तथा प्राविधिक टिमको सहभागिताले चलचित्रलाई थप प्रभावशाली बनाउने विश्वास गरिएको छ। चलचित्रमा रहने अन्य कलाकार र प्राविधिक टिमको विवरण क्रमशः सार्वजनिक गरिने पनि जनाइएको छ।





Comments

comments

139299