न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ जुन । मंगलबार बिहान सबेरै हङकङको स्युङ व्यानमा तीन जना गैर-चिनियाँ पुरुषहरूले करिब २ लाख हङकङ डलर नगद भएको एउटा ह्यान्डब्याग लुटेको प्रहरीले जनाएको छ।
हङकङको स्युङ व्यान क्षेत्रमा मंगलबार सबेरै एक ३८ वर्षीय पुरुषमाथि सामूहिक आक्रमण गरी उनको साथमा रहेको करिब २ लाख हङकङ डलर नगद लुटेर फरार भएका हुन्।
घटना मंगलबार रातको ठीक १२ बजेतिर विङ लोक सडक नजिकै पर्ने इस्ट कम लेन (पूर्वी गल्ली) मा घटेको हो।
पीडित पुरुष उक्त गल्ली भएर हिँडिरहेका बेला अचानक निस्किएका तीन जना अपरिचित व्यक्तिहरूले उनलाई चारैतिरबाट घेरेर अन्धाधुन्ध कुटपिट गर्न थाले।
आक्रमणकारीहरूले पीडितले भिरिरहेको एउटा क्रसबडी झोला जबरजस्ती खोसे। उक्त झोलामा २ लाख हङकङ डलर नगद राखिएको थियो, जुन लिएर उनीहरू पलभरमै गायब भए।
लुटपाटको क्रममा आफूलाई जोगाउन पीडितले कडा प्रतिवाद गरेका थिए। सोही क्रममा उनको टाउको, हात, खुट्टा र कम्मरमा गहिरो चोट लागेको छ। घटनाको जानकारी पाउनासाथ आकस्मिक स्वास्थ्यकर्मी र प्रहरीको टोली घटनास्थल पुगेको थियो। घाइते पुरुषलाई रक्ताम्मे र अर्धचेत अवस्थामा उद्धार गरी तुरुन्तै उपचारका लागि क्वीन मेरी क्षेत्रीय अस्पताल लगिएको छ।
प्रहरीले अपराध घटेको गल्लीलाई घेराबन्दी गरेर सुक्ष्म अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा पीडितको एउटा टोपी र थुप्रै रगतका टाटाहरू फेला परेका छन्।
हङकङ प्रहरीले यसलाई गम्भीर डकैतीको घटना मान्दै जिल्ला अपराध अनुसन्धान टोलीलाई कारबाहीको जिम्मा सुम्पेको छ। फरार रहेका ती तीनै जना लुटेराहरूको व्यापक खोजी भइरहेको भए तापनि अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिन सकिएको छैन। उनीहरू पक्राउ नपरेकाले राष्ट्रियता खुल्न अझै बाँकी छ।


