अलविदा गणेश!

सन्दर्भ तस्बिर

काठमाडौँ, काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर १ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको शुक्रबार बिहान ११:१९ बजे बर्न आईसीयूमा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।

काठमाडौँमा पठाओ चालकको रूपमा कार्यरत नेपाली र नगर प्रहरीबीच सवारी साधन पार्किङको विषयलाई लिएर विवाद भएको थियो। सोही क्रममा आक्रोश र आवेशमा आएर उनले आत्मदाहको प्रयास गरेका थिए। उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो।

चिकित्सकहरूका अनुसार उनको शरीरको ५५ प्रतिशत भाग जलेको र श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुगेकाले उनलाई मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

स्वास्थ्य अवस्था अत्यन्तै जटिल रहेका कारण उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स (AIIMS) अस्पताल लैजाने तयारी गरिए पनि सो सम्भव हुन सकेन।

हाल मृतकका आफन्तहरूले घटनाको सत्यतथ्य छानबिन र न्यायको माग गरिरहेका छन्।

नेपालीको निधनपछि वीर अस्पताल परिसरमा मृतकका आफन्त र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ। आफन्तहरूले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन हुनुपर्ने, दोषीमाथि कानुनी कारबाही गरिनुपर्ने र पीडित परिवारलाई उचित न्याय तथा क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शव बुझ्न मानेका छैनन्।

यसैबीच, घटनाको विरोधमा विभिन्न स्थानमा प्रदर्शनहरू समेत सुरु भएका छन् भने अस्पताल क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।





Comments

comments

139689