१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रामधुनी मन्दिरमा निर्माण गरिएको १०८ धारा, धर्मशालालगायतका नयाँ संरचनाले मन्दिर क्षेत्रको आकर्षण थप बढाएको छ।

पछिल्ला वर्षहरूमा भएका पूर्वाधार विकाससँगै नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने श्रद्धालु तथा धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ।

त्रेतायुगमा भगवान् श्रीरामले वनवासका क्रममा धुनी बालेर एक रात विश्राम गरेको र आफ्ना खराउ यहीँ छाडेको धार्मिक विश्वाससँग जोडिएको रामधुनी मन्दिर पछिल्ला वर्षमा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ । रामधुनी जङ्गलको बीचमा रहेको यस मन्दिरमा दैनिक दर्शनार्थी पुग्ने गरेका छन् भने रामनवमी, विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्रि, तीजलगायत पर्वमा भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार संघीय सरकार, रामधुनी नगरपालिका तथा अन्य निकायको सहयोगमा मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउने काम भइरहेको छ । उनले भने, संघीय सरकारको रु.एक करोड ३५ लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको १०८ धारा अहिले मन्दिर परिसरको प्रमुख आकर्षण बनेको छ । धारा निर्माण भएपछि यहाँ मन्दिरमा आउने तिर्थालुले पवित्र स्नान गर्न पाउनुका साथै यसले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

त्यसै गरी राधुनी मन्दिर परिसरमा संघीय सरकार र रामधुनी नगरपालिकाको आधा आधा लगानी गर्ने गरी रु. दुई करोड रुपैयाँको लगानीमा धर्मशाला निर्माण भइरहेको छ । साथै कोशी प्रदेश पर्यटन कार्यालय विराटनगरको रु.५० लाख रुपैयाँबाट तपस्वीथानमा सिँढी तथा सीताकुण्ड आसपास टायल बिछ्याउने काम सम्पन्न भएको छ भने गुठी संस्थानको रु।पाँच लाख रुपैयाँको सहयोगमा यस अघि सीताको मूर्ति निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले जानकारी दिए।

अध्यक्ष कार्कीका अनुसार मन्दिर परिसरमा प्रवेशद्वार, कमलकुण्ड वरिपरि रेलिङ, घेराबार तथा अन्य आवश्यक संरचना निर्माण भइसकेका छन् । साथै रामदरबार, अष्टचिरञ्जीवी मन्दिर, श्रीयन्त्र मन्दिर, श्रीचन्द्र बाबा वनस्खण्डी तथा प्रीतमदासका मन्दिर निर्माणको काम पनि अघि बढिरहेको छ।

इटहरीबाट घुम्न आएका सन्जोग श्रेष्ठले मन्दिर परिसरमा निर्माण गरिएको १०८ धाराले रामधुनीको सौन्दर्य र आकर्षण थप बढाएको बताए । पहिला भन्दा अहिले मन्दिर आकर्षक देखिएको छ तर व्यवस्थापन र सरसफाइ अलिक कम भएको हो कि जस्तो लाग्छ । १०८ धाराले यहाँको धार्मिक वातावरण मनमोहक त बनाएको छ । यस्ता पूर्वाधारले धार्मिक पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने छ तर यसलाई व्यवस्थापन र संरक्षणमा भने ध्यान दिन आवश्यक छ।

व्यवस्थापन समितिका अनुसार मन्दिरमा नेपाल, भारतलगायतका ठाउँहरूबाट आउने भक्तजनको आगमन पनि बढ्दै गएको छ । मन्दिर परिसरका स्थानीय होटल व्यवसायीहरूका अनुसार मन्दिर क्षेत्रमा भएको पूर्वाधार विकासले धार्मिक पर्यटकलाई सहजता प्रदान गर्नुका साथै यस क्षेत्रको पर्यटन सम्भावना पनि विस्तार गरेको छ । प्राकृतिक वातावरण, धार्मिक आस्था र नयाँ पूर्वाधारको संयोजनले रामधुनी मन्दिर पूर्वी नेपालको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीयको भनाई छ। रासस





Comments

comments

139698