स्थानीय प्रतिनिधि, अमेरिका। महाशक्ति राष्ट्र अमेरिकाको क्यालिफोर्निया राज्यको सुन्दर शहर सान फ्रान्सिस्को बे एरियामा बस्ने नेपालका भूमिपुत्र रैथाने याक्थुङ लिम्बू समुदायले बिरानो मुलुकमा आफ्नो कला संस्कृतिको धिपधिपे दियो जोगाउन, पहिचानको संरक्षण गर्न तथा नयाँ पुस्तामा पुस्तान्तरण गर्दै जाने गुदी नीति अनुरूप उनीहरूका अगुवा तुम्याङ्हरूले स्थापना गरेको उनीहरूकै सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङको अगुवाईमा आफ्नो मौलिक पर्व सिसेक्पा तङ्नाम् मनाएका छन्।
यो पर्व फिफा विश्व कपमा तेस्रो स्थानका लागि इङ्ल्यान्ड र फ्रान्सबीच खेल भइरहेकै दिन धुमधामसँग मनाइएको थियो।
याक्थुङ समुदायको मूल ग्रन्थ मुन्धुममा वर्णन गरिएका चार पर्वहरू मध्ये एक यो पर्वको आफ्नै किसिमको महत्व रही आएको पाइन्छ। यस मौलिक पर्वमा घरको मुख्य व्यक्तिले भालेको डाँकमै उठी मान्यता अनुसार कुखुराको सुली र माटोले बनेको शरीर स्नान गरी आफ्नो कोठेबारी वा बनपाखामा गएर अरराको काँडा, सिस्नुको पात, सिकेक फुंङको थुङ्गा, काउलोको झ्याम्टा खोजी ल्याएर बाबियोको डोरीमा बाँधी लामो माला जस्तो बनाई घरको मूल ढोका वा सम्भव भए पुरै घर वरिपरि बाँध दिने चलन छ।
सम्पूर्ण रीत पुर्याई यसो गर्दा उनाजुगको पालामा जस्तै अहिले पनि आफ्नो समुदायले अनिकाल, दुःख कष्ट तथा रोग चिन्ताबाट छुटकारा पाउने र त्यसपछि परिवार तथा समुदायको शुभ समय फर्की आउनुको साथै पुरै सृष्टि जगतकै सुब्बे फाब्बे हुने जनविश्वास यो समुदायमा रहेको पाइन्छ।
विशाल नीलो प्रशान्त महासागर किनारको ब्रक्ली मरिनामा लिम्बू याक्थुङ्बाहरू भेला भएर थाकथलोको सम्झना बिर्सना स्वरूप उहिलेदेखि खेल्दै आएको प्राचीन खेलहरूमा, छेलो हान्नेमा डेबिट लिम्बु, तीनपाने पार्ने हाँडी फोर्नेमा सुमित्रा राई तथा साना नानीबाबुहरूबीच भएको अन्य प्रतियोगात्मक खेलहरूमा नानीबाबुहरूले खेल खेली एकै खेपमा आफूभन्दा ठूलो बढेमानका ट्रफीहरू जितेका थिए।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा थरिथरिका केलाङ नाच, हाक्पारे साम्लो, तरुनी तन्नेरीले एकअर्काको हात समाएर सर्माउँदै ठूलो गोलो घेरा बनाई पालम खिप्दै खाप्दै घुम्दै नाच्ने शालीन धान नाच तथा थिबोङ्सा याक्थुङको सन्तानहरूले खाँदै पिउँदै आएको भनिएको परम्परागत मौलिक खानाहरूमा मिठो याङबेन, अमिलो किनिमा, पिरो अकबरे, तिरिमिरी टिम्मुरको छोप, तितेमाछाको अचार तथा अन्य स्वादिष्ट परिकार रहेका थिए।
उक्त कार्यक्रमको उद्घाटन नेपालबाट पाल्नुभएका विशेष अतिथि चर्चित पत्रकार विश्व लिम्बुले र दीप प्रज्वलन हर्षबहादुर साँवाले गर्नुभएको थियो भने स्वागत भाषण प्रतिभा सुब्बा, सञ्चालन टंक फोम्बो, कार्यक्रमको औचित्य सुरेन्द्र फोम्बो, मन्तव्य कुमार दोङ, डेन्डी शेर्पा र गणेश राईले आफ्नो खाँदिएको कमेडी समेत प्रस्तुत गर्नुभएको थियो।
दर्के पानी परेर अभर परिन्छ होला भन्दै बेलाबेलामा आकाश हेर्दै आगन्तुकहरू चनाखो भएर बसे तापनि सायद तागेरा निङ् वा फुमा (माङ) को कृपाले हो कि कार्यक्रमभरि धर्ती आकाश सर्लक्कै खुलेको थियो। यो कार्यक्रमको समापन उता फिफा विश्व कपमा इङ्ल्यान्डले फ्रान्सलाई ४ गोलको विरुद्ध ६ गोलले पराजित गरेको करिब २ घण्टापछि यता संस्थाका अध्यक्ष श्री कमान बनेम लिम्बु लुङ्गवाले आगन्तुक कुलकुटुम्ब, परपाहुना तथा इष्टमित्रहरूलाई हार्दिक धन्यवाद दिँदै, कार्यक्रम तर्जुमा गर्न दिनरात खटिने ती सुम्निमा पारुहाङ रुपी सहयोगी हातहरूलाई भुइँसोरी नमस्कार गर्दै अर्को वर्ष फेरि सिसेक्पा तङ्नाममा यहीँ कतै भेटौला है भन्दै बचनले बाँधी कार्यक्रमको समापन गरिएको थियो।


