कोलोराडोमा विशेष साहित्यिक कार्यक्रमका साथ २१३ औँ भानु जयन्ती सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। नेपाली भाषिक एकताका नायक आदिकवि भानुभक्तको २१३ औँ जन्म जयन्ती अमेरिकाको कोलोराडोमा एक विशेष साहित्यिक कार्यक्रमका साथ सम्पन्न भएको छ।

ग्लोबल भुटनिज कम्युनिटी अफ कोलोराडो र कोलोराडो नेप्लिज कम्युनिटीको आयोजनामा कार्यक्रम प्रस्तोता, लेखक तथा सञ्चार विश्लेषक अच्युत घिमिरे तथा मदन पुरस्कारबाट सम्मानित नेपाली साहित्यका महाकाव्यकार नवराज लम्सालको समुपस्थितिमा भानु जयन्ती मनाउने कार्यक्रम सम्पन्न भएको हो।

यही जुलाई १८ तारिख शनिबारका दिन बेलुका ५ बजेदेखि ८ बजेसम्म औरोरा स्थित द पिपुल्स बिल्डिङमा सम्पन्न कार्यक्रममा कोलोराडोमा सक्रिय संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, गन्यमान्य व्यक्तित्व, साहित्य अनुरागी तथा नेपाली भाषी बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो।

नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाएर सुरु गरिएको कार्यक्रममा मदन पुरस्कारबाट सम्मानित वरिष्ठ साहित्यकार एवं कार्यक्रमका प्रमुख अतिथि डा. नवराज लम्सालले भानुभक्तको फोटोमा माल्यार्पण गरी उद्घाटन गरेका थिए भने अमेरिकामा जन्मेर हुर्के बढेका बाबुनानीहरूले रामायणसहित भानुभक्तका रचनाहरू वाचन गरी कार्यक्रमलाई अगाडि बढाएका थिए।

कार्यक्रममा ग्लोबल भुटनिज कम्युनिटी अफ कोलोराडोका संस्थापक सदस्य, सल्लाहकार तथा समाजसेवी केदार खितवडाले स्वागत मन्तव्य दिँदै भानुभक्तको इतिहास कोट्याएका थिए।

त्यसपछि कार्यक्रमको मुख्य आकर्षण अच्युत घिमिरेको प्रस्तुति सुरु भएको थियो। संगीतको मधुर धुनसँगै सुरु भएको उनको प्रस्तुतिमा उनले झन्डै दुई दर्जन जति देश तथा विदेशमा रहेका सर्जकहरूद्वारा रचना गरिएका कविता, गजल, लघुकथा रेडियो प्रसारणकै शैलीमा सुनाएर सहभागीहरूलाई मन्त्रमुग्ध बनाएका थिए। उनलाई बाँसुरीबाट सर्वजित राई र कीबोर्डबाट गणेश गजमेरले साथ दिएका थिए।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि रूपमा वरिष्ठ साहित्यकार डा. ज्ञानेन्द्र गदाल र समाजसेवी नारायण श्रेष्ठको उपस्थिति रहेको थियो। उनीहरूले कार्यक्रमलाई सम्बोधन गर्दै साहित्य क्षेत्रका दुई महान हस्तीहरूलाई जुटाएर ज्यादै उत्कृष्ट कार्यक्रम सम्पन्न गरेको भन्दै आयोजकको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

त्यस्तै कार्यक्रममा सिनेकर्मी नवराज श्रेष्ठ, लमिन तमाङ, गायिका रिमा गुरुङ, साहित्यकार भूपेन्द्र महत, समाजसेवी अस्वी मिजार, तिलु खालिङ लगायत धेरै संघसंस्थाका पदाधिकारीहरूको जमघट रहेको थियो।

ग्लोबल भुटनिज कम्युनिटी अफ कोलोराडोका अध्यक्ष चुडा बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष बराल र प्रमुख अतिथि लम्सालले कलाकारहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए। कलाकारहरूलाई सम्मानपछि सभालाई सम्बोधन गर्दै डा. नवराज लम्सालले आफू यसपटक अमेरिका साहित्यिक कार्यक्रमकै लागि आएको र कोलोराडोमै दुई ठूला साहित्यिक कार्यक्रममा सहभागी हुन पाउनु अहोभाग्य भएको भन्दै अच्युत घिमिरेको क्षमताको प्रशंसा गरे। त्यस्तै उनले अमेरिकामै जन्मिएका कान्छो पुस्तासमेत यसरी रामायण गाउने भएको देख्न पाएको भन्दै खुसी व्यक्त गरे। यस्तो देशमा आइपुगेर पनि नेपाली भाषा, आदिकवि, नेपालीपन र पहिरनप्रति उनीहरूको गहिरो आस्था, विश्वास र समर्पण सम्झना योग्य रहेको बताएका थिए।

मनि खालिङ राईले सञ्चालन गरेको कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति बरालले संस्थाको निमन्त्रणालाई स्वीकार गरी नेपाल तथा अमेरिकाको विभिन्न राज्यबाट आएर कार्यक्रममा सहभागी भई भव्य र सभ्य तरिकाबाट सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए।

भानुभक्त आचार्य नेपाली भाषाका प्रथम महाकवि भएकाले उहाँलाई “आदिकवि” को उपाधि दिइएको छ। उनको जन्म तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो। संस्कृतमा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम जनतासम्म पुर्‍याएकोले भाषिक एकतामा उनको सबैभन्दा ठूलो योगदान मानिन्छ।

संस्कृतको वाल्मीकि रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपाली साहित्यलाई जनस्तरसम्म पुर्‍याइ उनले नेपालमा भाषिक एकता गरेका थिए। नेपाली भाषा र साहित्यको विकासमा अतुलनीय योगदान भएकाले उनको जन्मदिनलाई हरेक वर्ष भानु जयन्तीका रूपमा नेपाल तथा विश्वभरका नेपाली भाषी समुदायले मनाउने गरेका छन्।

कार्यक्रमका विशेष व्यक्ति अच्युत घिमिरे नेपाली सञ्चार क्षेत्रका परिचित पत्रकार, कार्यक्रम प्रस्तोता, लेखक तथा सञ्चार विश्लेषक हुन्। उहाँ विशेषगरी रेडियो र टेलिभिजनमा गम्भीर, साहित्यिक तथा बौद्धिक शैलीका कार्यक्रम सञ्चालनका लागि परिचित छन्। श्रुति संवेग र बुलबुल कार्यक्रम मार्फत नेपाली साहित्य, कविता, गजल, कथा र सिर्जनात्मक अभिव्यक्तिलाई श्रोतामाझ पुर्‍याएर लोकप्रिय भएका हुन्। उनको सशक्त वाचन, स्पष्ट उच्चारण र भावपूर्ण प्रस्तुति रहेको छ।

त्यसैगरी मदन पुरस्कारबाट सम्मानित नवराज लम्साल नेपाली भाषा साहित्यका सशक्त कवि, महाकाव्यकार, कुशल प्रस्तोता, गीतकार, लेखक तथा प्रशासक हुन्। उनका सरल, संवेदनशील र विचारप्रधान लेखन शैलीका कारण नेपाली साहित्यमा विशिष्ट पहिचान बनाउन सफल भएका छन्। यी दुई नेपाली भाषा साहित्यका खम्बाहरूको उपस्थितिले कार्यक्रमलाई धेरै पछिसम्म स्मरणीय बनाएको आयोजकहरूको दाबी रहेको छ।





Comments

comments

139865