नेपालीभाषी समुदायको जेठो संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा समर पिकनिक हुँदै

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। अमेरिकाको कोलोराडोमा रहेको नेपालीभाषी समुदायको जेठो संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा समर पिकनिक कार्यक्रम हुने भएको छ।

नेपाली भाषी समुदायका सदस्यहरूबीच भेटघाट गरी आपसी सद्भाव बढाउन तथा सहयोगको भावना विकास गर्ने कार्यलाई सघाउने उद्देश्यले समर पिकनिक आयोजना गर्न लागिएको हो।

आगामी अगस्ट २ तारिख आइतबारका दिन दिउँसो ३ बजे देखि साँझ ७ बजे सम्म (१ E Memorial Parkway, Northglenn, CO 80233) मा यहाँस्थित सबै संघसंस्थाहरूको सहभागितामा समर पिकनिक कार्यक्रमको आयोजना गर्न लागिएको रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष हरि गुरुङले बताएका छन्।

पिकनिकमा सहभागी हुनुहुने महानुभावहरूका लागि लक्षित गरी विभिन्न खेलकुद तथा मनोरञ्जनका कार्यक्रम आयोजना गर्न लागिएको संस्थाले उल्लेख गरेको छ। यस पिकनिकमा सहभागी हुन अनुरोध गर्दै संस्थाले विभिन्न सामाजिक सञ्जालमार्फत नेपालीभाषी संघसंस्थाका पदाधिकारी, गन्यमान्य, बुद्धिजीवी, समाजसेवी, पत्रकार, विभिन्न पेशामा आबद्ध पेशाकर्मी, व्यवसायी, नेपाली भाषी आमा बुबा, दाजुभाइ, दिदीबहिनी तथा नेपाल र नेपालीप्रति सद्भाव राख्ने स्थानीय सबैलाई सपरिवार सहभागिताको लागि हार्दिक अनुरोध गरेको छ।

यदि कुनै कारणवश खबर नपाउनुभएको भए यसै समाचारलाई आधार मानी सहभागी हुन अध्यक्ष गुरुङले हार्दिक अपिल गरेका छन्।

संस्थाले कोलोराडोमा नेपाली भाषा र संस्कृति संरक्षण तथा पहिचानका लागि दशैं, नयाँ वर्ष लगायत विभिन्न चाडपर्वहरूमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। त्यसैगरी संस्थाले नेपाल र नेपालीको पहिचानका लागि नेपाली परेड, समर पिकनिक लगायतका कार्यक्रम आयोजना गर्ने, नेपाली समुदायको हकहितका लागि स्थानीय सरकारसँग समन्वय गर्ने, नेपाली समुदायका सदस्यहरूलाई सहयोग आवश्यक परेमा अन्य संघसंस्थाहरूसँग हातेमालो गर्दै सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आएको छ।





Comments

comments

139938