कोलोराडोमा दिदीबहिनी समूहको आयोजनामा सामूहिक दर खाने कार्यक्रम आयोजना हुँदै

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। महिला दिदीबहिनीहरूको महान चाड तीज नजिकिँदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरू एकै ठाउँमा भेला भई नाचगान तथा शुभकामना साटासाट गर्दै सामूहिक रूपमा दर खाने भएका छन्।

माइतीघरबाट टाढा रहेका महिला दिदीबहिनीहरूलाई आफू एक्लो भएको महसुस नहोस्, एकै ठाउँमा जम्मा भई सुखदुःख साटासाट गर्दै दर खाँदा माइतीको झल्को मेटाउन सकियोस् र चेलीबेटीबाट टाढा रहेका दाजुभाइहरूका लागि आत्मीय वातावरण सिर्जना गर्न सकियोस् भन्ने उद्देश्यले यस वर्ष पनि दर खाने कार्यक्रम आयोजना गर्न लागिएको सिस्टर्स ग्रुप दिदीबहिनी समूह कोलोराडोका अध्यक्ष शान्ति भुषालले बताएकी छन्।

तीजको अवसरमा सबै आमा, दिदीबहिनी, बालबालिका तथा दाजुभाइहरू एकै ठाउँमा भेला भएर स्वादिष्ट दरको स्वाद लिनुका साथै भेटघाट, शुभकामना आदानप्रदान र नाचगानमार्फत खुसी साटासाट गर्ने अवसर मिल्ने यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासमा जन्मे-हुर्केका बालबालिका र स्थानीयहरूलाई नेपाली भाषा, संस्कृतिको पहिचान गराउन सहयोग पुग्ने छ। यसले दैनिक व्यस्तता र दुःखपीडा बिर्सेर केही समय रमाइलो गर्न मद्दत पुर्‍याउने भुषालको दाबी छ। कार्यक्रम मुख्य रूपमा महिला दिदीबहिनीहरूलाई लक्षित गरिए पनि सहभागी हुन इच्छुक दाजुभाइहरूलाई समेत हार्दिक स्वागत गरिने उनले बताएकी छन्।

अध्यक्ष भुषालले कार्यक्रममा सहभागीहरूलाई खानपान तथा अन्य व्यवस्थापनलाई व्यवस्थित बनाउनका लागि दिदीबहिनी समूहले तयार पारेको डिजिटल इभेन्ट मार्फत ( https://www.facebook.com/share/1EfuxUiN9B/?mibextid=wwXIfr )सबै इच्छुक सहभागीहरूलाई अग्रिम सहभागिता जनाउन हार्दिक अनुरोध गरेकी छन्।

यसैगरी उनले कोलोराडोमा सक्रिय सबै नेपालीभाषी संघसंस्था तथा समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई सहकार्य गर्न विभिन्न सामाजिक सञ्जाल मार्फत निमन्त्रणा गरिएको छ। कार्यक्रमलाई खुला रूपमा प्रायोजन (स्पन्सर) गर्न इच्छुक व्यक्ति वा संस्थाले दिदीबहिनी समूहका पदाधिकारीहरूसँग सीधा सम्पर्क गर्न सक्ने अध्यक्ष भुषालले जानकारी गराएकी छन्।

कार्यक्रम यही अगस्ट ८ तारिक शनिबार ४ बजे देखि राति ११ बजे सम्म (Ultra Lounge 8971 Yates St. Westminster, CO 80031) सञ्चालन हुने छ। कार्यक्रमबारे फेसबुकमा इभेन्ट बनाएर राखिएको छ। यदि कसैले संस्थाको फेसबुक फलो गर्न सक्नुभएको छैन भने यसै सूचनालाई आधार मानी कार्यक्रममा सहभागी भई भव्य र सभ्य तरिकाबाट सम्पन्न पार्न सहयोगको लागि संस्थाका उपाध्यक्ष दिलकुमारी श्रेष्ठले सबैलाई अनुरोध गरेकी छन्।

यसैगरी श्रेष्ठले उक्त दिन यस्तै किसिमको मिल्दोजुल्दो कार्यक्रम नराखी सहयोग गरिदिनुहुन पनि सबै कोलोराडो निवासीहरूलाई विनम्र अनुरोध गरिएको बताएकी छन्। संस्थाले विगत केही वर्ष अगाडिदेखि कोलोराडोमा नियमित रूपमा सामूहिक दर खाने कार्यक्रम आयोजना गर्दै आएको छ।





Comments

comments

139943