पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

–

गण्डकी । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा मंगलबार पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना गरिएको छ।

पोखराका ११ वटा रोटरी क्लबको आयोजनामा फेवाताल किनारस्थित बाराहीघाटमा भएको महोत्सवमा नेपाल र जापानका कलाकारले आ–आफ्नो देशका मौलिक कला, संस्कृति, सङ्गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

दुई देशबिचको मित्रता, सांस्कृतिक सम्बन्ध र आपसी सद्भाव अभिव्यक्त गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल र जापानबिचको सम्बन्ध दशकौँदेखिको मित्रता, विश्वास र सहकार्यमा आधारित रहेको बताए । उनले दुई देशबिचको कूटनीतिक सम्बन्धले ७० वर्ष पूरा गर्नु ऐतिहासिक र गौरवपूर्ण अवसर भएको उल्लेख गरे।

जापान र नेपालबिचको सम्बन्ध सरकारी तथा कूटनीतिक तहमा मात्र सीमित नभई जनस्तरको आत्मीयता, सांस्कृतिक आदानप्रदान, पर्यटन, शिक्षा र विकास सहकार्यसम्म विस्तार भएको उनको भनाइ थियो । यस्ता कार्यक्रमले दुई देशका नागरिकबिचको सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुग्ने उनले बताए।

जापानी पर्यटकका लागि पोखरा आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै प्रमुख आचार्यले यहाँको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सांस्कृतिक कार्यक्रम उपयोगी हुने बताए । सात दशक लामो सम्बन्धका क्रममा जापानले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि तथा मानव संसाधन विकासमा सहयोग गर्दै आएको उनले उल्लेख गरे।

रोटरी क्लब अफ पोखराका अध्यक्ष मदन शर्माले महोत्सवमा हिमाली सांस्कृतिक परिवारका कलाकारले नेपाली मौलिक नृत्य प्रस्तुत गरेको जानकारी दिए । जापानी कलाकारले त्यहाँका लोकप्रिय बाजासहित सांस्कृतिक प्रस्तुति दिएका थिए।

नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षका अवसरमा रोटरी क्लबले काठमाडौँपछि पोखरामा महोत्सव आयोजना गरेको अध्यक्ष शर्माले बताए । यस्ता कार्यक्रमले दुई देशबिचको सम्बन्ध थप सुदृढ बनाउनाका साथै जनस्तरमा आपसी सद्भाव र सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने उनको विश्वास थियो।

रासस





Comments

comments

142530