काठमाडाैँ । दक्षिणपश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
लोकप्रिय पर्यटकीय क्षेत्र क्याप–फेरेट प्रायद्वीपसम्म फैलिएको आगलागीले १० हजार हेक्टरभन्दा बढी वन क्षेत्र नष्ट गरेको छ भने दर्जनौँ घर पूर्ण रूपमा ध्वस्त भएका छन्।
अधिकारीहरूका अनुसार बोर्डोबाट पश्चिमतर्फ रहेको सौमोस गाउँमा बुधबार सुरु भएको आगो तीव्र गतिमा फैलिँदै क्याप–फेरेट प्रायद्वीप पुगेको हो । पाइन वन, बालुवाका टाकुरा र ओइस्टर उत्पादनका लागि परिचित यो क्षेत्र फ्रान्सका चर्चित व्यक्तिहरूको रोजाइको पर्यटकीय गन्तव्य मानिन्छ।
फ्रान्सका गृहमन्त्री ब्रुनो रेटायोले करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए। उनले यसलाई चालु मौसमकै सबैभन्दा ठुलो डढेलो भएको उल्लेख गर्दै हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिए।
उनका अनुसार आगलागीबाट ८० वटा घर जलेका छन् तीमध्ये करिब ५० वटा पूर्ण रूपमा नष्ट भएका छन्। आगो अझै नियन्त्रणमा आउन नसकेको र त्यसलाई नियन्त्रणमा लिन एक हजारभन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको उनले बताए।
अधिकारीहरूका अनुसार एटलान्टिक तटस्थित प्रभावित प्रायद्वीपबाट चार सयभन्दा बढी व्यक्तिलाई डुङ्गामार्फत सुरक्षित स्थानमा उद्धार गरिएको छ।
राष्ट्रपति इमानुएल म्याक्रोनले सामाजिक सञ्जालमार्फत अवस्था अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै आगलागी नियन्त्रणका लागि युरोपेली सङ्घ (इयु) को नागरिक सुरक्षा संयन्त्र सक्रिय पारिएको जानकारी दिए। उनका अनुसार चेक गणतन्त्र र स्लोभाकियाबाट दुईवटा ‘ब्ल्याक हक’ हेलिकोप्टरसहित थप प्राविधिक सहयोग फ्रान्स आइपुग्नेछ। रासस


