युकेमा रुङ्माहाङ राई समुदायको बंशीय भेला सम्पन्न: संस्कृति जोगाउन एकीकृत डाटाबेस र धरानको केन्द्रीय भवनमा सहयोग गर्ने सङ्कल्प

भूमिराज राई –
बेलायतमा बसोबास गर्दै आएका किरात बान्तावा रुङ्माहाङ राई समुदायले आफ्नो जातीय पहिचान, सांस्कृतिक ऐक्यबद्धता र साङ्गठनिक सुदृढीकरणलाई थप मजबुत बनाएका छन्।

२५ जुलाई २०२६ शनिवार रिप्लेस्थित किरात राई हाउसमा किरात बान्तावा रुङ्माहाङ राई वात्तोङ् समिति युकेको वार्षिक साधारण सभा तथा बंशीय भेला उत्साहजनक रूपमा सम्पन्न भएको हो।

९३ वर्षीया ज्येष्ठ नागरिक श्रीमती दिल कुमारी राईको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष बिनोद कुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो।

यसै वर्षदेखि विधानमा लागू गरिएको नयाँ नीति अनुसार अध्यक्ष राईले बंशीय झण्डोत्तोलन गर्नुभएको थियो। तत्पश्चात् प्रमुख अतिथि र अध्यक्षले पानसमा दीप प्रज्वलन गरी सृष्टिकर्ता सुम्निमा-पारुहाङको तस्बिरमा माल्यार्पण गर्दै साधारण सभाको उद्घाटन गर्नुभएको थियो। उद्घाटनमा बंशीय गान प्रस्तुत गरिनुका साथै दिवंगत पितृ र वंशजहरूको स्मरणमा एक मिनेट मौन धारण गरियो।

संस्थाका उपाध्यक्ष पोपिराज राईले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो।

कार्यक्रममा बंशीय मर्यादा र सामाजिक योगदानको कदर गर्दै बान्तावा खिम युकेका नवनिर्वाचित अध्यक्ष जुवाइँ चेला सुरेश राईलाई ससुरालीका तर्फबाट ढाका टोपी र खादा ओढाएर सम्मान गरियो। त्यस्तै, ‘अन्तरदेशीय प्रज्ञा पुरस्कार २०८२’ बाट सम्मानित स्रष्टा एवं कवि काङमाङ नरेश (नरेश काङमाङ) लाई उहाँको साहित्यिक योगदानका लागि ढाका टोपी र खादाद्वारा सम्मान गरियो।

बेलायतमा नयाँ आएका वंशज, छोरीचेली, बुहारी तथा जुवाइँहरूलाई पनि खादा ओढाएर स्वागत गरिएको थियो।

बन्द सत्रमा सचिव भूमिराज राईले सन् २०२४ देखि २०२६ सम्मको साङ्गठनिक तथा वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।

“सुखमा भन्दा दुःखमा वंश र आफन्तको बढी आवश्यकता पर्दछ; रगत र दूधको रक्षा गर्दै एकताबद्ध बनौँ” भन्ने मूल मर्म बोकेको सो प्रतिवेदन छलफलपछि सर्वसम्मतिले पारित भयो।

पारित निर्णयहरू अनुसार अब युकेमा बसोबास गर्ने रुङ्माहाङ राई वंशजहरूको एकीकृत डाटाबेस (Database) तयार गरिनेछ भने १८ वर्ष पूरा भएका युवाहरूलाई संस्थाको आजीवन सदस्यता अनिवार्य गरिनेछ। यसका साथै धरानमा निर्माण हुन लागेको ‘केन्द्रीय भवन’का लागि युकेबाट आर्थिक सहयोग समन्वय गर्ने र शीतकालीन (विन्टर) भेलाको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव पारित भएका छन्।

समारोहमा स्रष्टा काङमाङ नरेशले रुङ्माहाङ वंशको लोगोमा दाहिनेतर्फ भाले चिन्डो र देब्रेतर्फ पोथी चिन्डो राख्दा सांस्कृतिक र पौराणिक अर्थ स्पष्ट हुने सुझाव दिँदै फेटा बाँध्ने परम्पराबारे स्पष्ट पार्नुभयो।

अध्यक्ष बिनोद कुमार राईले समिति प्रकाशक रहेको ‘दिवाहाङ बाक्खा बुलेटिन’ नेपालबाट आइपुगेको जानकारी दिँदै विगतमा काठमाडौँको ‘माङ्खिम’ निर्माणमा जस्तै धरानको केन्द्रीय भवन निर्माणमा पनि आर्थिक हातेमालो गर्न युकेवासी वंशज, छोरीचेली र जुवाइँहरूसँग अपिल गर्नुभयो।

सामूहिक तस्बिरपछि आयोजित दोस्रो सत्रमा आत्मीय भलाकुसारी, बंशीय भोज र सांस्कृतिक आदानप्रदान भयो।

कोषाध्यक्ष रञ्जित राईको संयोजनमा दिवाहाङ बाक्खा बुलेटिन, क्यालेन्डर, ब्याज र बेसबल क्याप वितरण गरियो। सचिव भूमिराज राई र सह-सचिव किरण राईले सञ्चालन गर्नुभएको सभाको समीक्षा बैठक छिट्टै बस्ने संस्थाले जनाएको छ।





Comments

comments

139981