काठमाडौं । सिरहाको गोलबजारमा दुई समुदायबीच भीषण झडप भएको छ।
यो तनावको सुरुवात सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट भएको हो।
त्यहाँ डिजे बाजा बजाएको विषयमा दुई समुदायबी च विवाद भएको थियो। सोही विवादको असर फैलिँदै बिहीबार सिरहाको गोलबजार पुगेको हो।
गोलबजारमा बिहानैदेखि प्रदर्शन र ढुङ्गामुढा सुरु भयो। आक्रोशित भीडले त्यहाँ पार्क गरिएका ११ वटा मोटरसाइकलमा आगजनी समेत गर्यो।
झडप नियन्त्रण गर्ने क्रममा गोली चल्दा औरही गाउँपालिका-२ का अन्दाजी १५ वर्षीय किशोर गणेश यादवको मृत्यु भएको छ। प्रहरीले भने स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्याँस मात्र प्रहार गरेको दाबी गरेको छ। गोली कसले चलाएको हो भन्ने कुराको आधिकारिक पुष्टि हुन बाँकी छ।
यसैगरी, उग्र भीडको ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालयका पाल थरका डिएसपी घाइते भएका छन्। उनको ओठमा ढुङ्गा लागेर चोट लागेको छ। घाइते डिएसपीको ओठमा टाँका लगाइएको छ। हाल उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त छ।
कर्फ्यु आदेश र प्रभावित क्षेत्रशान्ति सुव्यवस्था कायम राख्न स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। यो कर्फ्यु साउन १४ गते बिहीबार दिउँसो २ बजेदेखि लागू भएको हो।
प्रशासनका अनुसार कर्फ्यु पूर्व-पश्चिम राजमार्गको कसहा खोलादेखि चोहर्वा चोकसम्म लगाइएको छ। यस्तै उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ बहुमुखी क्याम्पस आसपासको क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकिएको छ।
स्थिति नियन्त्रणमा लिन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ।


