इटहरी , जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि जारी गरिएको कर्फ्यू आदेश हटाउँदै जिल्लाका तोकिएका संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनाअनुसार कर्फ्यू हटाइए पनि शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम निषेधाज्ञा जारी गरिएको हो।
प्रशासनले निषेधाज्ञा लागू भएका क्षेत्रमा पाँच जना वा सोभन्दा बढी व्यक्तिको भेला हुन, जुलुस निकाल्न, सभा, प्रदर्शन तथा घेराउ गर्न पूर्ण रोक लगाएको जनाएको छ।
सूचनाअनुसार निषेधाज्ञा महेन्द्र राजमार्गको इटहरी उपमहानगरपालिका (वडा नं. १६ र १७) तथा रामधुनी नगरपालिका (वडा नं. १ र ५) अन्तर्गत राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्रभित्र लागू गरिएको छ। साथै इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु स्थानीय तहका सम्पूर्ण क्षेत्रमा पनि निषेधाज्ञा कायम रहने उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा अफवाहमा विश्वास नगरी शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। सुरक्षा निकायलाई अवस्था सामान्य बनाउन आवश्यक निगरानी र परिचालन जारी राख्न निर्देशन दिइएको प्रशासनले जनाएको छ।


