गृहमन्त्री सुधन गुरुङ अझै केही दिन मधेशमै रहने

काठमाडौं, गृहमन्त्री सुधन गुरुङ अझै केही दिन मधेश प्रदेशमै रहने भएका छन्। सुनसरी र सिरहामा दुई समुदायबीच तनाव र झडप भएपछि उनी स्थलगत अनुगमन र सहमति प्रयासका लागि मधेश गएका हुन्।

मधेशको शान्ति सुरक्षा पूर्ण रूपमा सामान्य नभएसम्म उनी काठमाडौं फर्किने छैनन्। उनी अहिले स्थानीय प्रशासन र सुरक्षा निकायसँग निरन्तर समन्वयमा छन्।

यसै क्रममा गृहमन्त्री गुरुङले पीडित परिवारसँग भेट गरेका छन्। उनले सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारलाई भेटेका हुन्। उनले सिरहाको गोलबजारमा गोली लागेर ज्यान गुमाएका गणेश यादवको परिवारलाई पनि भेटेका छन्। उनले पीडित परिवारसँग सहमति पत्रमा हस्ताक्षरसमेत गरेका छन्।

सरकारले मृतकहरूलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएको छ। सरकारले पीडित परिवारलाई राहत र रोजगारीको सुनिश्चितता गर्नेछ। घटनाको निष्पक्ष छानबिन गर्ने सहमति पनि भएको छ। यो सहमतिपछि दुवै क्षेत्रको आन्दोलन रोकिएको छ।

अहिले मधेशको अवस्था तुलनात्मक रूपमा शान्त बन्दै गएको छ। तर सामाजिक सद्भाव खलबल्याउन खोज्ने संदिग्ध व्यक्तिहरू अझै सक्रिय हुन सक्छन्। त्यसैले प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ गरेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी थप गरिएको छ।

संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत विशेष निगरानी समेत थालिएको छ। स्थानीय प्रशासन, नागरिक समाज र सरोकारवालासँग सहकार्य भइरहेको छ। पूर्ण रूपमा अमनचयन कायम गराएर मात्र गृहमन्त्री काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ।





Comments

comments

140096