हङकङमा ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण

–

पशन तमू र जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम –
हङकङ, ७ अगष्ट । हङकङ अल्ट्रा–ट्रेल रनिङ एसोसिएसनको आयोजनामा बिहीबार हङकङमा ब्रोड पिक हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

–

हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको आत्माको चिरशान्तिको कामना गर्दै यो सभा आयोजना गरिएको हो।

–

गत ३० जुलाई २०२६ मा पाकिस्तानको ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोमा विश्वविख्यात आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जनाको ज्यान गएको थियो।

–

५ जना अन्य नेपाली आरोहीहरू पुर बहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा र विदेशी ४ जना आरोहीहरू ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, अमेरिकाकी म्यालोरी गेस, पाकिस्तानका सोहेल साखी र चीनका वाङ जोङ गरी १० जना आरोहीहरूको ज्यान गएको थियो।

–

कार्यक्रममा सहभागीहरूले मैनबत्ती प्रज्वलन गरेर दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

–

हङकङ किराँत याक्थुङ चुम्लुङ हलमा आयोजित कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङ प्रमुख अतिथि थिए। गुरुङले ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका नेपाली आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे।

–

कार्यक्रममा अन्य अतिथिहरूको रूपमा अरुणा गुरुङ, राज गुरुङ, अनु राई (एनआरएनए एचके) र गोकर्ण ढकाल उपस्थित थिए। सतिश गुरुङ र राजकुमार राईले श्रद्धाञ्जली व्यक्त गरेका थिए।

–

यसैगरी, सुष्मा गुरुङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको अध्यक्षता बेदराज लिम्बूले गरेका थिए।





Comments

comments

140180