काठमाडौं । पेटभित्र लुकाएर सुनजस्तो देखिने धातु ल्याउने एक जना बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
प्रहरीका अनुसार साउन ३१ गते बिहान फ्लाई दुबईको एफजेड ११३३ नम्बरको उडानबाट दुबई हुँदै काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दारलाई शंकाका आधारमा नियन्त्रणमा लिइएको हो।
विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ एरियामा शंकास्पद गतिविधि देखिएपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पेटभित्र सुन लुकाएर ल्याएको स्वीकार गरेको प्रहरीको भनाइ छ।
त्यसपछि उनलाई काठमाडौं मेडिकल कलेज, सिनामंगलमा लगेर पेल्भिक एरियाको एक्स–रे गराइएको थियो। एक्स–रेमा पेटभित्र शंकास्पद वस्तु देखिएपछि उनलाई अस्पतालमा निगरानीमा राखिएको थियो।
प्रहरीका अनुसार ५ दिनपछि भाद्र ५ गते शौच गराउने क्रममा करिब १५० ग्राम तौल भएका सुनजस्तो देखिने क्याप्सुल आकारका दुईवटा धातुका वस्तु फेला परेका हुन्।
बरामद वस्तुसहित बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दारलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।


