चितवन । भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ। अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ । सोही युजरनेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशालाको नतिजा अनलाइनबाटै हेर्न र प्रिन्ट गर्न सक्ने उनले जानकारी दिए।
यसैगरी अस्पतालमा जडान गरिएका दुई भेन्डिङ मेसिनबाट पनि बहिरङ्ग (ओपिडी) टिकट र प्रयोगशाला रिपोर्ट दुवै लिन मिल्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । यसले बिरामीलाई काउन्टरमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति दिने बगाले बताउँछन्।
अस्पतालमा दैनिक तीन हजार ८०० बिरामी बहिरङ्ग सेवाका लागि आउने गरेको तथ्याङ्क छ । सेवा सुविधामा भइरहेको सुधारसँगै बिरामीको चाप पनि उत्तिकै बढ्दै गएको डा बगालेले बताए । ६२० शय्या सञ्चालनमा रहेको भरतपुर अस्पतालमा चितवनसहित छिमेकी २५ जिल्लाका बिरामी उपचारका लागि आउने गर्छन्।
स्वास्थ्य बीमामार्फत् सेवा दिनमा पनि यो अस्पताल अग्रणी मानिन्छ । सरकारले निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द गरेपछि बीमामार्फत् उपचार गराउन भरतपुर अस्पताल आउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ। रासस


