काठमाडौँ, भदौ ६ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निजी भ्रमणको सिलसिलामा सडकमार्ग हुँदै मुस्ताङ प्रस्थान गरेका छन्।
यसअघि नेपाली सेनाको हेलिकप्टरबाट जाने योजना तय भए पनि प्रधानमन्त्री शाह शनिबार बिहान पोखराको अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टबाट सरकारी गाडीमै मुस्ताङतर्फ लागेका हुन्।
यस निजी भ्रमणमा प्रधानमन्त्री शाहको साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गणेश’ समेत सहभागी रहेका छन्।
प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै मुस्ताङको प्रवेशद्वार घाँसादेखि बेनी–जोमसोम सडकखण्डसम्म स्थानीय सुरक्षा निकायले कडा सुरक्षा प्रबन्ध मिलाएका छन्।
शाह जोमसोम पुगेपछि त्यहाँको एयरपोर्ट बजारमा रहेको प्रसिद्ध हेरिटेज होटल ओम्स होममा बस्ने व्यापक चर्चा चलेको छ। मुस्ताङी तथा थकाली मौलिकता झल्किने परम्परागत वास्तुकलामा निर्माण गरिएको यो होटल ऐतिहासिक महत्त्वको मानिन्छ। सन् १९९१ मा बलिउड चलचित्र खुदा गवाहको छायांकनका क्रममा अभिनेता अमिताभ बच्चन र उनको टोली यसै होटलमा बसेका थिए।
आज शनिबार साँझ जोमसोमको ऐतिहासिक होटल ओम्स होममा विश्राम गरेर शाहले भोलि आइतबार बिहान प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन तथा पूजाआजा गर्ने कार्यतालिका रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले यो भ्रमण पूर्ण रूपमा प्रधानमन्त्रीको व्यक्तिगत एवं निजी भ्रमण भएको स्पष्ट पारेका छन्।


