भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको नगरकोटमा आयोजित दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ को उद्घाटन गरेका छन्।
नगरकोटस्थित रिसोर्टमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले कमजोर भए देश नै कमजोर हुने धारणा राखे।
देश सङ्कटबाट गुज्रिरहेको अवस्थामा पार्टीलाई बलियो बनाएर अगाडि बढाउन सके मात्र देश बलियो हुने उनले बताए। पार्टी कमजोर बनाउन खोज्ने तत्वहरूले यस्ता कुरा बुझ्नुपर्नेमा उनले जोड दिए। व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको भन्दै उनले पार्टीलाई बलियो बनाउन सबै जनसङ्गठन एक हुनुपर्ने बताए।
सरकार देश र जनताको हितमा लाग्नुपर्ने औँल्याउँदै उनले प्रतिपक्षले निरन्तर खबरदारी गरिरहने स्पष्ट पारे। दुईदिने कार्यशालाले पार्टी र देशलाई बलियो बनाउने सन्देश दिनुपर्नेमा उनले जोड दिए। कार्यक्रममा अध्यक्ष ओलीले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर र एमालेबाट शपथ लिएका दुई मन्त्रीलाई सम्मान गरे।
सो अवसरमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई एकढिक्का बनाएर लैजान सबै लाग्नुपर्ने बताए। संयोजक भानुभक्त ढकाल, एमाले सचिव महेश बस्नेतलगायत १५० जना नेताहरूको सहभागिता रहेको कार्यशाला आइतबार सम्पन्न हुनेछ। रासस


