ट्युनिसियाको सामुद्रिक तट नजिक १५ जना आप्रवासी बोकेको शनिबार डुङ्गा डुब्दा यसमा सवार १४ जना वेपत्ता भएका छन्।
शनिबार इटालीको लाम्पेडुसा टापुबाट करिब १४५ किलोमिटर टाढा ट्यनिसियाली तटमा डुङ्गा डुबेपछि खोज तथा उद्धार कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गरी जानकारी गराएका छन्।
राष्ट्रिय गार्डका प्रवक्ता हुसेम एद्दिन जेबाबलीले मोसाइक एफएम रेडियोसँग कुरा गर्दै शुक्रबार रातिदेखि शनिबारसम्म जार्जिसको तटबाट १४ नटिकल माइल टाढा डुङ्गा डुबेको र अहिलेसम्म एक जनालाई मात्र उद्धार गरिएको बताए।
टुयुनिसियाली राष्ट्रिय गार्डले घटनामा कुनै मृत्यु पुष्टि भएको छ कि छैन भनेर बताएनन्।
ट्युनिसिया मानव अधिकार नियमन निकायका अध्यक्ष मोस्तफा अब्देलकेबिरले फेसबुकमार्फत दिएको जानकारीमा चार वटा शव फेला परेका छन् तर ती डुङ्गाका बेपत्ता यात्रुहरूका हुन् कि होइनन् भन्ने अहिलेसम्म स्पष्ट छैन।
घटनास्थल इटालीको लाम्पेडुसा टापुबाट करिब १४५ किलोमिटर (९० माइल) टाढा ट्युनिसियाको तटमा पर्छ । यो युरोपमा राम्रो जीवन खोज्दै भूमध्यसागर पार गर्ने जोखिमपूर्ण यात्रा गर्न खोज्ने आप्रवासीहरूका लागि प्रमुख प्रस्थान बिन्दु हो । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) अनुसार मध्य भूमध्यसागर मार्ग विश्वको सबैभन्दा घातक आप्रवासन मार्ग हो।
आईओएमले यस महिनाको सुरुमा दिएको जानकारीमा भनिएको थियो, ‘सन् २०२६ को पहिलो चार महिनामा मध्य भूमध्यसागरमा आप्रवासी मृत्यु गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी भएको छ।’
आईओएमका अनुसार यस वर्ष यस मार्गमा कम्तीमा ९१४ आप्रवासी मरेका वा बेपत्ता भएका छन्।
सन् २०२३ मा ट्युनिसियाले युरोपेली सङ्घसँग २५ करोड ५० लाख युरो (२९ करोड अमेरिकी डलर) को सम्झौता गरेको थियो, जसको लगभग आधा रकम अनियमित आप्रवासन नियन्त्रणका लागि छुट्याइएको थियो।
इटालीको कट्टर दक्षिणपन्थी सरकारको बलियो समर्थन प्राप्त यस सम्झौताले ट्युनिसियाको तटबाट डुङ्गाहरू जान नदिन क्षमता बढाउने लक्ष्य राखेको थियो। रासस


