मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ गलमटे केराबारीमा रहेको जलपरी झरना पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। हेटौँडा र आसपासका जिल्लाबाट पर्यटकको आगमन बढेपछि यस क्षेत्रको चर्चा फैलिएको हो।
हेटौँडाको मुख्य बजारबाट ३० किलोमिटर र मनहरीबाट करिब १० किलोमिटर दूरीमा रहेको यस झरनाको प्रवर्द्धन र पूर्वाधार विकासमा वडा कार्यालय निरन्तर लागिरहेको वडाध्यक्ष उत्तम वाइबाले बताए।
जलपरी झरनासँगै नजिकै रहेको चमेरे गुफालाई समेटेर पर्यटकीय योजना अघि बढाइएको छ। विसं २०७४ देखि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी काम भइरहेको र प्रदेश तथा पालिकाबाट हालसम्म १ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भई विभिन्न पूर्वाधार बनेका छन्। प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत पदमार्ग निर्माण र वृक्षरोपण हुनुका साथै पर्यटकका लागि दुईवटा वनभोजस्थल निर्माण गरिएको छ।
झरना परिसरमा बुद्ध, जलपरी र मृगलाई झम्टँदै गरेको बाघको मूर्ति स्थापना गरिएको छ। तामाङ, मगर र चेपाङ बस्ती रहेको यस क्षेत्रमा घरबास (होमस्टे) सञ्चालनका लागि स्थानीयलाई अभिप्रेरित भइरहेको छ। बाह्रै महिना पानी बग्ने झरनाको विकासले ग्रामीण अर्थतन्त्र र रोजगारीमा टेवा पुग्ने स्थानीय रामकुमार एलनको भनाइ छ।
हाल हेटौँडा र चितवनसहित बर्दघाटबाट समेत पर्यटकहरू आउन थालेका छन्। पर्यटक प्रदीप विक र अभिशेक सुनारले झरनाको प्राकृतिक सुन्दरताले मोहित बनाएको अनुभव सुनाए। बिजुली बत्ती विस्तारको तयारी भइरहेको यस क्षेत्रमा चहलपहल बढेपछि स्थानीय छेकु दोर्जे पाख्रिनले चिया तथा खाजा पसल सुरु गरेका छन्। तीनै तहका सरकारले योजनाबद्ध काम गरे आर्थिक गतिविधि थप चलायमान हुने स्थानीयको अपेक्षा छ। रासस


