काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार बाढीमा परेर एक हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको हो।
महासङ्घका महासचिव डेकनाथ गौतमले करिब ६०० मालवाहक, ३०० यात्रुवाहक सवारी साधन र ४०० भन्सारमा जाँचपासका लागि राखिएका सवारीसाधनमा क्षति पुगेको जानकारी दिए।
“सामान लिनका लागि भन्सार नाकामा गएका, यात्रु लिएर रसुवा र गोसाइँकुण्ड गएका तथा भन्सारमा जाँचपासका लागि राखिएका एक हजार ३०० बढी सवारी साधनमा क्षति पुगेको छ, निजी सवारीसाधनमा भएको क्षतिबारे यकिन गर्न सकिएको छैन,” महासचिव गौतमले भने।
बाढीले चीनको केरुङ नाकामा सामान लिन गएका र भन्सार जाँचपासका लागि राखिएका सयौँ ट्रक, कन्टेनर, यात्रुवाहक बस, माइक्रोबस र नयाँ सवारीसाधनमा क्षति पुर्याएको महासङ्घले जनाएको छ।
महासचिव गौतले अर्को सूचना नभएसम्मका लागि प्रभावित क्षेत्रका सबै यातायात सेवा स्थगित गरिएको बताए । उनले विपद्को घडीमा तत्काल उद्धार र राहतका लागि सबै क्षेत्रसँग अपिल गरेका छन्।
महासङ्घले नेपाल सरकारसँग तत्काल सबै निकायहरू परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उपचार र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । साथै, बाढी प्रभावित व्यवसायी र मजदुरलाई पुनः जीविकोपार्जनको वातावरण मिलाउन महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ। रासस


