मातृभूमिमा आइपरेको विपत्तिमा सबै एकजुट भई सक्दो सहयोग गरौं – महामन्त्री गुरुराज घिमिरे

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मातृभूमिमा अकस्मात आइपरेको ठूलो विपत्तिको घाउमा मलम लगाउन सबैलाई यथासक्य सहयोगका लागि अनुरोध गरेका छन्।

नेपाली जनसम्पर्क समिति अमेरिका, कोलोराडो च्याप्टरको आयोजनामा बुधबार, अगस्ट २६ मा कोलोराडोको ब्रूमफिल्डस्थित वाइब्स इन्डियन रेस्टुरेन्टमा आयोजित ‘समसामयिक संवाद कार्यक्रम’ मा उनले यस्तो अनुरोध गरेका हुन्।

कार्यक्रममा कोलोराडोस्थित नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली कांग्रेसका शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुआत बाढी, पहिरोका कारण ज्यान गुमाएका महानुभावहरूको सम्झनामा एक मिनेट मौनधारण गर्दै गरिएको थियो। मातृभूमिमा उत्पन्न दुःखद परिस्थितिप्रति सहभागीहरूबाट गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा हराइरहेकाहरू चाँडै सम्पर्कमा आउन् भन्ने कामना गरिएको थियो।

त्यसैगरी कार्यक्रममा नेपालमा विकसित पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थिति, देशमा देखिएका चुनौती, सुशासन, लोकतन्त्र, जनताको अपेक्षा तथा प्रवासमा रहेका नेपालीहरूले मातृभूमिका लागि खेल्न सक्ने भूमिकाबारे समसामयिक संवाद गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले देश संकटमा रहेका बेला राजनीतिक दल तथा नेतृत्वले जनताको भावना र अपेक्षालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए। प्रवासमा रहेका नेपालीहरू पनि मातृभूमिको सुख-दुःखसँग जोडिएको उल्लेख गर्दै नेपालमा विपद् तथा संकटको समयमा सक्दो सहयोग र सहकार्यमा आफूहरू सधैं तयार रहेको बताएका थिए।

संवादमा सहभागीहरूले घिमिरे समक्ष प्रवासबाट पठाएको सहयोग समयमै पीडितसम्म नपुगेको, पीडितसम्म सहयोग पुर्‍याउन एकद्वार प्रणालीमा सीमित राख्न नहुने, राष्ट्रले प्रवासी नेपालीहरूको सीप र लगानी भित्र्याउने वातावरण सृजना नगरेको, दोहोरो नागरिकताको कुरा कागजमात्र सीमित गरेको जस्ता गुनासोहरू गरेका थिए।

सहभागीहरूको गुनासोलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले यस्तो विपत्तिको समयमा तुरुन्तै पीडितसम्म पुग्न हाम्रा नीति-नियमहरूलाई सुधार गर्नुपर्ने अवस्था रहेको, एकद्वार प्रणाली भनेर पीडितसम्म पुग्ने बाटो बन्द गर्न नहुने, प्रवासको सीप र लगानी भित्र्याउने वातावरण नबनेसम्म देश सम्पन्न नहुने, विश्व ग्लोबलाइजेसन भइसकेको वर्तमान अवस्थामा आफ्नै देशमा जन्मेर बाध्यताको परिस्थितिले विदेशिएका दाजुभाइ-दिदीबहिनीहरूलाई नागरिकताको विवादमा अल्झाउन नहुने जस्ता विचार राखेका थिए।

सधैं देशलाई दुःखेको बेला राजनीति, धर्म, जातजातिभन्दा माथि उठेर एकजुट भई हातेमालो गर्ने हाम्रो परम्परा रहेको भन्दै यस विपत्तिमा सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरे।

कार्यक्रमको सञ्चालन नेपाली जनसम्पर्क समिति अमेरिका, कोलोराडो च्याप्टरका शंकर गुरुङले गरेका थिए भने अध्यक्ष गणेश भण्डारीले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए।

संवादमा नेपाली कांग्रेस महासमिति सदस्य प्रविन ओझा, नेपाली जनसम्पर्क समिति अमेरिका युवा सहमहामन्त्री सुमन केशी, केन्द्रीय सदस्य नवराज न्यौपाने, निवर्तमान उपाध्यक्ष धर्मराज श्रेष्ठसहित विभिन्न संघसंस्थाका पदाधिकारी, नेता तथा जनसम्पर्क समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

समग्रमा कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच मातृभूमिको वर्तमान अवस्था, लोकतान्त्रिक मूल्य-मान्यता र देशप्रतिको जिम्मेवारीबारे संवाद गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेकोमा घिमिरेलाई धन्यवाद दिइएको थियो।

महामन्त्री घिमिरे नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न गराउन अमेरिका आएका थिए। अधिवेशन सकेर अहिले साथीभाइ भेटघाटका कार्यक्रममा कोलोराडो आइपुगेका हुन्।





Comments

comments

140578