एचकेनेपाल डट कम –
हङकङ। नेपाल र तिब्बतको सीमा क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढी र पहिरोको मुख्य कारण चिनियाँ वैज्ञानिकहरूले खुलासा गरेका छन्।
तिब्बतको जिलोङ काउन्टीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जलवायु परिवर्तन र तीव्र तापक्रम वृद्धिका कारण हिमनदी कमजोर भई अचानक भत्किँदा यो भयानक विपद् आएको हो। चिनियाँ विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोलीले स्याटेलाइट डेटा र स्थलगत अध्ययन गरेपछि बाढी र पहिरोको मुख्य कारण पत्ता लगाएको हो।
वैज्ञानिकहरूका अनुसार नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी भित्तामा करिब ५,२०० मिटरको उचाइमा रहेको हिमनदीको एउटा ठूलो हिस्सा अचानक भत्किएर तल खसेको थियो।
हिउँ र चट्टानको यो विशाल ढिस्को ४,००० मिटरको उचाइसम्म तीव्र गतिमा ओरालो झर्दा यसले पहाडको माटो र ढुङ्गालाई बगाएर भयानक लेदो पहिरोको रूप लियो।
यो पहिरो २२ किलोमिटरको दूरी पार गर्दै मात्र ६ देखि ७ मिनेटभित्र १,८०० मिटरको उचाइमा रहेको जिलोङ अर्थात् केरुङ नाकामा बज्रिएको थियो।
पहिरोको गति र शक्ति यति धेरै थियो कि यसले जिलोङ नाका आसपासको झण्डै शून्य दशमलव सात वर्ग किलोमिटर क्षेत्रका २७ वटा भवन र भौतिक संरचनाहरूलाई क्षणभरमै नामोनिसान मेटिने गरी ध्वस्त पारिदियो।
चिनियाँ अधिकारीहरूले यस घटनालाई जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको नयाँ र अत्यन्तै खतरनाक प्राकृतिक चुनौतीका रूपमा व्याख्या गरेका छन्।
यस भीषण प्राकृतिक विपद्का कारण २३ देशका २६१ जना विदेशी नागरिकहरू बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा सबैभन्दा बढी १०४ जना नेपाली र ४९ जना भारतीय नागरिक रहेका छन् भने अमेरिका र अष्ट्रेलियाका नागरिक पनि सम्पर्कविहीन छन्।
चीन सरकारले यसबारे सम्बन्धित देशका दूतावासहरूलाई आधिकारिक रूपमा जानकारी गराइसकेको छ र हाल उक्त क्षेत्रमा कुनै पनि विदेशी पर्यटक बाँकी नरहेको स्पष्ट पारेको छ।
हाल चिनियाँ जनमुक्ति सेना, सशस्त्र प्रहरी र अन्य उद्धार निकायका गरी २,१४१ जना सुरक्षाकर्मीहरू २६९ वटा उद्धार सवारी साधन र करिब चार हजार आधुनिक उपकरणसहित अग्रपंक्तिमा खोजी तथा उद्धार कार्यमा खटिएका छन्।


