एचकेनेपाल डट कम –
काठमाडौं, भदौ १४ । चीन सरकारले नेपालमा आएको विनाशकारी बाढी पीडितहरूको राहत र उद्धारका लागि ५० टन आपत्कालीन राहत सामग्री र सुरुङ उद्धार विशेषज्ञ टोली काठमाडौं पठाएको छ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) को वायुसेनाका दुईवटा विशाल वाई–२० (Y-20) ढुवानी विमान चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे।
नेपाल सरकार र काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार यी विशेष कार्गो विमानहरूमा बाढी प्रभावित नागरिकका लागि आवश्यक १३ हजार २०० थान आपत्कालीन सामग्रीहरू ल्याइएका छन्। ती सामग्रीहरूमा त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, तयारी सुख्खा खाद्य सामग्री, बिस्कुट र प्राथमिक उपचार किट रहेका छन्।
नेपालमा बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा मानिसहरू फसेकाले चीनले राहत सामग्रीसँगै ४ जना सुरुङ उद्धार विशेषज्ञ र आवश्यक अत्याधुनिक उपकरणहरू पनि पठाएको छ।
विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ती सामग्रीहरू नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थितिमा हस्तान्तरण गरेका हुन।
यसअघि, पनि नेपाल सरकारको अनुरोधमा चीनले शनिबार केरुङ सीमा नाकाबाट हेलिकप्टरमार्फत ५ जना विशेषज्ञ टोली पठाई प्रभावित क्षेत्रको जलविद्युत् आयोजनामा उद्धार कार्य सुरु गरिसकेको छ।
चीन सरकारले यस भौतिक र प्राविधिक सहयोगका अतिरिक्त नेपालको राहत तथा पुनर्स्थापना प्रयासका लागि २० लाख अमेरिकी डलर नगद आर्थिक सहायता उपलब्ध गराउने घोषणासमेत गरिसकेको छ।


