नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। मातृभूमि नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपदमा दिवंगत आत्माको चिरशान्तिको कामना, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन तथा गुरूहरूद्वारा शान्तिपाठ गर्ने कार्यक्रम सम्पन्न भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोलोराडो च्याप्टरको अगुवाइमा तथा कोलोराडोमा रहेका सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा शुभेच्छुक महानुभावहरूको सहकार्य र सहभागितामा नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’मा तथा ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोको आयोजनामा लिस्बन पार्क, डेनभरमा गुरूहरूद्वारा शान्तिपाठ, दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।
विनाशकारी बाढी तथा प्राकृतिक विपदमा दिवंगत हुनुहुनेहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्र गुरुङले कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए।
त्यसैगरी, सबै संघसंस्थाका तर्फबाट आईएनएलएस कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले मातृभूमिमा भएको विनाशकारी क्षतिले सबैको आत्मामा गहिरो घाउ लागेको भन्दै त्यसमा मलमपट्टीका लागि यथासक्य सहयोग गर्न सबैलाई आग्रह गरेका थिए।
त्यस्तै, ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोको आयोजनामा लिस्बन पार्क, डेनभरमा आयोजित सामुदायिक दीप प्रज्वलन कार्यक्रममा हिन्दु, किरात र क्रिश्चियन धर्मका धर्मगुरूहरूद्वारा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिका लागि शान्तिपाठ र प्रार्थना सभा गरिएको स्थानीय हेम गिरीले बताएका छन्।
‘मानवताको सेवामा समर्पित’ भन्ने नाराका साथ संस्थाले यस दुःखद घडीमा ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरेको ग्लोबल भुटानीज कम्युनिटीले जनाएको छ।
कार्यक्रम सेप्टेम्बर १ तारिख मंगलबार साँझ ६ बजेदेखि सुरु भई राति ८ बजेसम्म सञ्चालन भएको थियो।


