अमेरिका आएको ७ महिनामै सडक दुर्घटनामा विजय पाण्डेको दुःखद निधन, आर्थिक सहयोग जुटाउन गोफण्ड मी सुरु
नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। अमेरिकाको कोलोराडोमा भएको एक सडक दुर्घटनामा १८ वर्षीय नेपाली मूलका युवक विजय पाण्डेको असामयिक निधन भएको छ।
सुन्दर भविष्य निर्माणको सपना बोकेर अमेरिका आएका पाण्डे ७ महिना नपुग्दै सडक दुर्घटनामा परी ज्यान गुमाएका हुन्। जुन देशमा सुन्दर भविष्य बनाउने सपना बोकेर आए त्यहीँ उनको जीवनको यात्रा ७ महिनामै समाप्त भएको छ।
नेपालको स्याङ्जा जिल्ला विरुवा निवासी बाबु गणेशप्रसाद पाण्डे र आमा संगीता पाण्डेको जेठा छोरा विजय पाण्डेको यसरी दुःखद निधन हुँदा परिवारमा ठूलो बज्रपात परेको छ। उनका परिवारजनमध्ये १७ वर्षीय भाइ मात्र यहाँ रहेको, बुबा आमा नेपालमै रहेको समाजसेवी नन्दलाल न्यौपानेले बताएका छन्।
प्राप्त विवरणअनुसार अगस्ट २९ गते राति करिब १:३० बजे कामबाट कोठातर्फ फर्कने क्रममा पाण्डेलाई टेस्ला गाडीले ठक्कर दिएको र दुर्घटनापछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैबीच, Jefferson County Coroner’s Office ले पाण्डेको मृत्यु भएको पुष्टि गर्दै Verification of Death पत्र जारी गरेको छ। कार्यालयले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। मृत्युको पुष्टि गर्ने उक्त पत्रमा थप जानकारीका लागि Jefferson County Coroner’s Office को कार्यालयमा सम्पर्क गर्न सकिने उल्लेख छ।
यस्तो दुःखद खबरले उनको परिवार, नातागोता, साथीभाइमा मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध र मर्माहत बनाएको छ। हाल उनको पार्थिव शरीर अस्पतालमै रहेको छ। उनका बुवा–आमा नेपालबाट अमेरिका आइपुगेपछि अन्त्येष्टि गर्ने तयारी रहेको हुँदा अस्पताल तथा अन्य आवश्यक व्यवस्थापनमा ठूलो आर्थिक खर्च भइरहेको छ।
यस्तो दुःखद र असहाय अवस्थामा हामीले गर्ने सानोभन्दा सानो सहयोग पनि उहाँको परिवारका लागि ठूलो सहारा बन्न सक्छ। आज हामीसँग उनको जीवन फर्काउने सामर्थ्य छैन, तर उनको परिवारको दुःखमा केही मलम लगाउने सामर्थ्य अवश्य छ। त्यसैले मानवताको नाताले, नेपाली हुनुको नाताले र दुःखमा एक अर्काको साथ दिने हाम्रो संस्कारको नाताले आफूले सकेको सहयोग गरिदिनुहुन कोलोराडो नेपाली समुदायले सबैमा विनम्र अनुरोध गर्दै गोफण्ड मी सुरु गरेको छ।
सबै एकजुट भएर एक नेपाली हुनुको नाताले यो पीडामा परेको परिवारको साथ दिऔं। सकेको आर्थिक सहयोग गरौं र यो पोस्ट शेयर गरेर धेरैभन्दा धेरै नेपाली समुदायसम्म पुर्याऔं।
हाम्रो सानो सहयोग र एउटा शेयरले पनि एउटा परिवारलाई यो कठिन समयमा आशा र हौसला दिन सक्छ। सबैले हातेमालो गरौं, एउटा पीडित परिवारलाई एक्लो महसुस हुन नदिऔं।
यसैबीच कोलोराडोमा सक्रिय नेपाली घर, NRNA Colorado Chapter लगायतका संघसंस्थाहरूले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै सहयोगका लागि अनुरोध गरेका छन्।
स्वर्गीय विजय पाण्डेयज्यूको आत्माप्रति हार्दिक श्रद्धाञ्जली !!!


