कोलोराडोबाट नेपालका बाढी प्रभावितका लागि संकलित सहयोगको विवरण सार्वजनिक गर्न एनआरएनएको आग्रह

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। मातृभूमि नेपालमा गएको विध्वंसकारी बाढीपहिरोबाट प्रभावितलाई राहत र पुनःनिर्माणका लागि अहिले विभिन्न संघसंस्था, व्यवसाय, सामुदायिक समूह तथा व्यक्तिगत रूपमा सहयोग संकलनको विश्वभर माहोल नै चलेको छ।

यस्तो परिस्थितिलाई मध्यनजर गर्दै कोलोराडोबाट नेपालका बाढी प्रभावितका लागि संकलित सहयोगको विवरण सार्वजनिक गर्न एनआरएनए कोलोराडो च्याप्टरले एक प्रेस विज्ञप्तिमार्फत सबैलाई आग्रह गरेको छ।

च्याप्टरका अध्यक्षद्वय निमा शेर्पा र चन्द्र गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त आग्रह गरिएको हो। जारी विज्ञप्ति यस प्रकार रहेको छ।

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट भएको ठूलो जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरले दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

विपद् प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकार, विश्वभरका नेपाली समुदाय, विभिन्न व्यक्ति, व्यवसाय तथा संघसंस्थाहरूले सहयोग गर्दै आएका छन्। कोलोराडोमा पनि विभिन्न व्यक्ति, व्यवसाय, संघसंस्था तथा सामुदायिक समूहहरूले आफ्नै पहलमा आर्थिक तथा भौतिक सहयोग संकलन तथा प्रदान गरिरहेको च्याप्टरले जनाएको छ।

सहयोग संकलन तथा परिचालनमा पारदर्शिता, जवाफदेहिता, विश्वसनीयता र उचित अभिलेखीकरण कायम गर्ने उद्देश्यले कोलोराडो च्याप्टरले नेपालका बाढी तथा विपद् प्रभावितहरूका लागि कोलोराडोबाट संकलन तथा प्रदान गरिएको सहयोगको व्यवस्थित अभिलेख राख्ने निर्णय गरेको छ।

च्याप्टरले सेप्टेम्बर ३०, २०२६ भित्र सहयोग संकलन वा प्रदान गर्ने व्यक्ति, व्यवसाय, संघसंस्था तथा सामुदायिक समूहहरूलाई कुल आर्थिक सहयोग, सहयोग गर्ने पक्षको नाम, सहयोग प्राप्त गर्ने व्यक्ति/परिवार/संस्था वा सम्बन्धित निकायको विवरण तथा रकम वा राहत सामग्री हस्तान्तरण गरिएको प्रमाण उपलब्ध गराउन अनुरोध गरेको छ।

“हाम्रो सहयोग, हाम्रो एकता र हाम्रो पारदर्शिता नै विपद् प्रभावितहरूप्रतिको सच्चा मानवीय दायित्व हो,” च्याप्टरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विवरण Email: [email protected] मा पठाउन सकिने जनाइएको छ।





Comments

comments

140783