काठमाडौँ। बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले अप्रत्याशित रूपमा आफ्नो पदबाट राजीनामा दिएकी छिन्।
संसदीय समितिमा ग्यास उद्योगीहरूलाई लक्षित गर्दै “पाता फर्काउने” र लाइसेन्स खारेज गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएपछि चौतर्फी विवादमा तानिएकी मन्त्री यादवले अन्ततः प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्।
राजीनामा बुझाएलगत्तै मन्त्रालयबाट बाहिरिँदा मन्त्री यादव भावुक बन्दै आँखाभरि आँसु पारेर निस्किएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
कतिपयले यसलाई माफिया र तस्करहरूको सेटिङका कारण एउटा मन्त्रीलाई जबरजस्ती बाहिर निकालिएको भन्दै सरकारको आलोचना गरिरहेका छन् भने अर्कातर्फ मन्त्रीको गैरजिम्मेवार बोली र व्यवहारका कारण यो परिस्थिति सिर्जना भएको विश्लेषण भइरहेको छ।


