काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी सवारीसाधन चलाउने तीन चालकलाई नियन्त्रणमा लिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि मंगलबार गरिएको लापसे चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा एक मिनी ट्रक चालक, एक पिकअप चालक र एक विद्युतीय (इभी) हाइस चालक छन् । उनीहरूलाई लागुऔषध सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला पारिएको कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, प्रहरी वृत्त कीर्तिपुर, ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले आवश्यक ‘चेकिङ’ गरेको थियो।
नियन्त्रणमा लिइएका तीनै चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको ट्राफिक प्रहरीले जनाएको छ। प्रवक्ता सुवेदीले लागुऔषध सेवन गरी सवारीसाधन चलाउनु नियम विपरीत र दण्डनीय कार्य भएकाले चालकलाई सचेत रहन आग्रह गरे।
उनले चालकले लागुऔषध वा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन १०३ वा प्रहरीको हटलाइन १०० मा खबर गर्न आग्रह गरे। रासस


