नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

–

बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्याउन शाखा तथा उपशाखा नहर विस्तार गर्न सुरु गरेको छ।

खजुरा र बैजनाथ गाउँपालिका क्षेत्रमा थप सिँचाइ सुविधा पुर्याउन आयोजनाको पश्चिम मूल नहरअन्तर्गत गुरुवागाउँ शाखा र उपशाखा नहर निर्माणका लागि बाँकेका विभिन्न स्थानमा जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए।

उनका अनुसार, जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत २०८३ असोज ८ गते सूचना जारी गर्दै जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ अनुसार सो कार्यका लागि जग्गा अधिग्रहण गर्न लागिएको जानकारी दिईएको छ । हालको खजुरा गाउँपालिकाका वडा नं १, २, ५, ८ र ९ (साविक राधापुर गाविस वडा नं ४ र ७; साविक सीतापुर गाविस वडा नं ३, ६ र ८; साविक उढरापुर गाविस वडा नं १ र ३ तथा साविक रनियापुर गाविस वडा नं ३, ६ र ९) र बैजनाथ गाउँपालिकाका वडा नं ५ र ६ (साविक वनकटवा गाविस वडा नं ४ र ५) भित्र पर्ने जग्गाहरू अधिग्रहण गरिने छ।

सम्बन्धित जग्गाधनी वा निजको नियमानुसारको वारिसलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय वा सिक्टा सिँचाइ आयोजनाको कार्यालयमा निवेदन दिई मुआब्जा दाबी गर्न आग्रह गरिएको आयोजना निर्देशक आचार्यले जानकारी दिए।

अधिग्रहण गरिने जग्गामा घर, गोठ, पर्खाल वा रुख–बिरुवा आदि भएमा सोको विवरण निवेदनमै स्पष्ट रूपमा खुलाई त्यस्ता संरचना तथा रुख–बिरुवाहरू बढीमा एक महिनाभित्र उठाई जग्गा खाली गरिदिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

सिक्टा सिँचाइको पश्चिमी मूल नहर बाँके जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ हजार ७६६ हेक्टर जमिन र पूर्वी मूल नहरले राप्ती नदीको पूर्वी भेगको करिब ९,००० हेक्टर गरी कूल ४२ हजार७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ सुबिधा उपलव्ध गराउने लक्ष्य रहेको छ। हाल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले बताए।

सिक्टा सिँचाइलाई चालु आर्थिक वर्ष २०८३–०८४ मा रु दुई अर्व ५५ करोड विनियोजन गरिएको छ । गत आर्थिक वर्ष २०८२–०८३ मा सिक्टा सिँचाइलाई रु एक अर्ब ५७ करोड विनियोजन भएको थियो । गत वर्षको बजेटमा भन्दा यो वर्ष करिब रु एक अर्ब बढाएर बजेट विनियोजन भएको छ।

सिक्टा सिँचाइ आयोजनाअन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण धमाधम भइरहेको छ भने सिधनीया, प्रसेनीपुर र अकलघरवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिएको छ । गुरुवागाउँ र अकलघरहवा शाखा र उपशाखा तथा पूर्वी मूल नहरका बाँकी कामहरूका लागि पूर्व तयारीका कामहरू भइरहेको निर्देशक आचार्यले जानकारी दिए। रासस





Comments

comments

141123