जनकपुरधाममा शिक्षासम्बन्धी ‘तेस्रो राष्ट्रिय शिखर सम्मेलन’ हुने

–

जनकपुर । जनकपुरधाममा शिक्षासम्बन्धी ‘तेस्रो राष्ट्रिय शिखर सम्मेलन २०८३’ मङ्सिर ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने भएको छ।

प्रधानाध्यापक सङ्घ नेपाल (पान) का अध्यक्ष सुदाम गौतमले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी आगामी मङ्सिर ४ गतेदेखि सम्मेलन आयोजना गरिने जानकारी दिएका हुन्।

उनले नेपालको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, प्राज्ञिक नेतृत्व सुदृढीकरण तथा तीनै तहका सरकार र सरोकार भएका निकायबीच नीतिगत सहकार्य निर्माण गर्ने उद्देश्यका साथ पानले सम्मेलन आयोजना गर्ने जानकारी दिए।

अध्यक्ष गौतमले नेपालको संविधानले आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पेको वर्तमान परिप्रेक्ष्यमा विद्यालय नेतृत्व (प्रधानाध्यापक) र स्थानीय सरकारबीचको समन्वयले मात्र व्यावहारिक शैक्षिक रूपान्तरण सम्भव रहेको धारणा राखे।

“विद्यालय एक्लैले गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न सक्दैन । यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र नीति निर्माताको साझा सहकार्य अपरिहार्य छ”, उनले भने।

यही यथार्थलाई आत्मसात गर्दै देशभरका शैक्षिक अगुवाहरूलाई साझा मञ्च प्रदान गर्न यो शिखर सम्मेलन केन्द्रित रहने अध्यक्ष गौतमले जानकारी दिए । उनले सम्मेलनमा देशभरका सातै प्रदेशबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, शिक्षा मन्त्रालयका नीति निर्माता र विकास साझेदारहरू प्रत्यक्ष सहभागी हुने जानकारी दिए।

अध्यक्ष गौतमका अनुसार यो सम्मेलनले नेपालको विद्यालय शिक्षा सुधारको दीर्घकालीन मार्गचित्र कोर्न दुई महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्नेछ । जनकपुर घोषणापत्र सम्मेलनका सघन छलफल र निष्कर्षका आधारमा नेपालको विद्यालय शिक्षाको गुणस्तर सुधार, समतामूलक पहुँच, शिक्षक पेशागत मर्यादा र शैक्षिक अधिकार कार्यान्वयनका साझा प्रतिबद्धता समेटिएको ऐतिहासिक ‘जनकपुर घोषणापत्र’ जारी गर्ने उनले जानकारी दिए।

उनले विद्यालय नेतृत्वको क्षमता विकास, नवप्रवर्तन, सूचना प्रविधिको प्रयोग, पेशागत दक्षता र आगामी कार्यदिशा स्पष्ट पार्ने पानको बहुवर्षीय रणनीतिक योजना सार्वजनिक गरिने बताए । राष्ट्रिय शिक्षा पुरस्कार तथा सम्मान, शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरी समाज रूपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याउने विद्यालय, नेतृत्वकर्ता तथा स्थानीय तहहरूलाई भव्य समारोहका बीच सम्मान गरिने उनले जानकारी दिए।

सातै प्रदेशबाट आधारभूत तथा माध्यमिक तह र प्रधानाध्यापकका साथै उत्कृष्ट स्थानीय तह, उत्कृष्ट गाउँपालिका, उत्कृष्ट नगरपालिका र उत्कृष्ट महानगर/उपमहानगरपालिकालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गौतमले जानकारी दिए।

उनका अनुसार शिक्षा पत्रकारितामा क्रियाशील एक महिला र एक जना पुरुष सञ्चारकर्मी र शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउने एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । उनले सम्मेलन तीन दिनसम्म सञ्चालन हुने जानकारी दिए।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्याति प्राप्त शिक्षाविद्हरूबाट मूल कार्यपत्र प्रस्तुति, सङ्घीय र प्रादेशिक सांसदहरू तथा स्थानीय सरकार प्रमुखहरूसँग विद्यालय शिक्षा विधेयक र नीतिगत चुनौतीमाथि खुला बहस, डिजिटल सिकाइ, विद्यालय प्रशासन, समावेशी शिक्षा, मानसिक स्वास्थ्य, र नेतृत्व कलाबारे विषयगत सत्रहरू, नवीन शैक्षिक सामग्री, सूचना प्रविधि र शिक्षण विधिहरूको बृहत् शैक्षिक प्रदर्शनी, स्थानीय तहका प्रमुख र विद्यालय नेतृत्वबीच स्रोत व्यवस्थापन तथा शैक्षिक सहकार्यसम्बन्धी अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए। रासस





Comments

comments

141193